काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाल निकट युवा संघ नेपालले चैत्र ७ गते राष्ट्रिय कार्यकर्ताको भेला गर्ने भएको छ । युवा संघले शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै चैत्र ७ गते भोलि राष्ट्रिय सभागृहमा हुने राष्ट्रिय भेलालाई पार्टीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री नेपालले उद्घाटन गर्ने जानकारी दिएको हो ।
राष्ट्रिय कार्यकर्ता भेला आयोजक कमिटीका संयोजक नरेश शाहीले चैत्र ७ गते आयोजना गर्ने ‘राष्ट्रिय भेला’ को सम्पुर्ण तयारी पुरा भएको जानकारी दिए । उनले भने, ‘देशमा विकसित भएको राजनितिक घटनाक्रमले युवा आन्दोलनलाई पुनर्गठित गर्नुपर्ने आवश्यकता देखिएको छ ।’
Advertisement
शाहीले सर्वोच्च अदालतको २३ फागुनको निर्णयले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच भएको एकतालाई खारेज गरेपछि पार्टी र पार्टीका भातृ संगठनका कमिटीहरूमा त्यसको प्रभाव परेको बताए । अदालतको निर्णयले पाटी र भातृ संगठनलाई ३ जेठ २०७५ भन्दा अगाडी पुर्याएको उनको ठहर थियो ।
उनले पछिल्लो परिवर्तित अवस्थामा युवा संघलाई पुनर्गठन र सुदृढिकरण गर्नुपर्ने आवश्यकतालाई बोध गर्दै युवा संघ नेपालको राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्न लागेको बताए ।
भोली हुने भेलामा केन्द्रिय कमिटी सदस्य, निकायका सदस्य, विभागका सदस्य, जिल्ला तथा महिला विभागका प्रमुख लगायतको पदाधिकारीहरूको सहभागिता हुने संघले जनाएको छ ।
साभार: रातोपाटी