काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकार टिकाउन अनुचित सम्झौता नगर्ने बताएका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टीको केन्द्रीय कमिटी बैठकमा सरकार टिकाइराख्न कुनै पक्षसँग पनि अनुचित सम्झौता नगर्ने बताएको एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।
बैठकपछि सञ्चारकर्मीसँग ओलीको भनाइ उद्धृत गर्दै प्रवक्ता ज्ञवालीले भने, ‘सरकार टिकाउन अनुचित सम्झौता गर्ने छैनौं, जनताको भावनाको विपरीतका काम गर्ने छैनौं । हामीलाई फेरि थप घेराबन्दी गरियो भने थप शक्तिका साथ पुनःस्थापित हुनेछौं ।’
Advertisement
प्रवक्ता ज्ञवालीले फागुन २३ गते नेकपाको वैधानिकताबारे सर्वोच्चले फैसला सुनाएपछि सरकार संविधानको धारा ७६ को उपधारा २ बमोजिमको भएको बताए । आगामी दिनमा सोहीअनुसार अगाडि बढ्ने कुरा प्रधानमन्त्रीले सम्बोधनका क्रममा भनेको पनि उल्लेख गरेको ज्ञवालीको भनाइ छ ।
यसअघि एमाले संसदीय दलको बैठकमा पनि प्रधानमन्त्री ओलीले एमाले प्रतिपक्षमा बस्न तयार रहेको बताएको थिए । ‘हामी प्रतिपक्षमा बस्न पनि अभ्यस्त छौं, २०४८ सालयता पटक पटक प्रतिपक्षमा बसेका छौं । आगामी दिनमा सबै दल एकातिर लागेर हट्नुपरे पनि जनताका बीचमा बस्छौ, अझै जनमुखी भएर अगाडि बढ्छौँ,’ ओलीको भनाइ थियो ।
ओलीले आगामी निर्वाचनबाट एमालेले २०७४ सालमा वाम गठबन्धनले भन्दा धेरै मत ल्याउने दाबी गरे । ‘चुनावमा जाँदा जनताको चाहना बुझ्नुभएकै छ । सरकार परिवर्तन भए चुनावबाट स्पष्ट बहुमत ल्याउने छौं ,’ ओलीले भने ।
साभार: रातोपाटी