२०८१ मंसिर ४

नेपाल प्रहरीका दुई एसएसपीमाथि अख्तियारको छानविन

काठमाडौं । नेपाल प्रहरीका दुई वरिष्ठ उपरीक्षक (एसएसपी)माथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गरिरहेको छ ।  महानगरीय प्रहरी परिसर ललितपुरकी प्रमुख किरण बज्राचार्य र प्रहरी हेड्क्वार्टर नक्सालमा कार्यरत पुजा सिंहको आर्थिक अनियमितताबारे आयोगले छानविन गरेको हो । 

बज्राचार्य महानगरीय प्रहरी परिसर भक्तपुमा एसपी हुँदा बेवारिसे शव व्यवस्थापनका लागी निकासा भएको सरकारी पैसा हिनामिना गरेको आरोपमा उजुरी परेको थियो । उनी ०७२ असोज देखि ०७३ मंसिर सम्म भक्तपुर इन्चार्ज थिइन् । 


Advertisement


सिंहमाथि जिल्ला प्रहरी कार्यालय काभ्रेको एसपी हुँदा सरुवा भएर जाने कर्मचारीले पाउने टिएडिए नदिएर आफैंले हिनामिना गरेको आरोप छ । सरुवा भएर जाने कर्मचारीलाई दिनुपर्ने भत्ता रकम लेखापालसँग मिलेर उनले नक्कली हस्ताक्षर गरेर कागजपत्र मिलाएको भन्दै उजुरी परेको थियो । 

सिंह ०७१ भदौदेखि ०७२ असोजसम्म काभ्रेको इन्चार्ज थिइन् । अहिले उनी प्रहरी हेडक्वार्टरको प्रशासन महाशाखामा कार्यरत छिन् ।  बज्राचार्य र सिंह विरुद्ध परेको उजुर उपर छानविन भइरहेको अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले रातोपाटीलाई बताए । भण्डारीले भने– ‘उहाँहरु विरुद्ध परेको उजुरीको सम्बन्धमा विस्तृत अनुसन्धान भइरहेको छ ।’  अनुसन्धान अधिकृतले निचोड सहितको प्रतिवेदन पेश गरेपछि आयोगको पूर्ण बैठकबाट मुद्दा चलाउने वा नचलाउने भन्नेबारे निर्णय हुन्छ । 

साभार: रातोपाटी

Copy link
Powered by Social Snap