काठमाडौं । ५ सय र १ हजारका नक्कली नेपाली नोटसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत कालिमाटीबाट खटिएको टोलीले रौतहट घर भएका गनबहादुर लोप्चन ‘राजु’ र निता तामाङ ‘माया’ लाई पक्राउ गरेको हो ।
Advertisement
नक्कली नोट बोकेका व्यक्ति कलंकीमा आएको सुराकको आधारमा प्रहरीले उनीहरुको पिछा गरेको थियो । कलंकीबाट ५ सय दरको ९ वटा नोट बरामद गरिएको थियो ।
कीर्तिपुरस्थित उनीहरुको डेरा सर्च गर्दा हजार रुपैयाँ दरका ४९ वटा र ५ सय दरको थप ५६ वटा नक्कली नोट फेला परेको छ ।
डेराबाट नोटमा प्रयोग गरिने ‘सेक्युरिटी थ्रेड’ बनाउन प्रयोग हुने कच्चा पदार्थ र प्रिन्टर बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले रातोपाटीलाई बताए ।
साभार: रातोपाटी