२०८१ पुष १०

ओलीलाई योगेशको आग्रह : परिस्थिति निकै चुनौतीपूर्ण छ, पहलकदमी लिनुस्

काठमाडौं ।  नेकपा एमालेका नेता एवं सांसद योगेश भट्टराईले विगतका तीता मीठा कुरा बिर्सिएर संयम र धैर्यताका साथ अगाडि बढ्नुपर्ने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग उनले भने,  ‘हिजोका कतिपय तीता मीठा कुरा बिर्सिऔं । उत्तेजित भएर हैन संयम र धैर्यताका साथ अगाडि बढ्नुपर्छ । किनभने परिस्थिति निकै खतरा, चुनौतीपूर्ण छ । यो मुलुकले एमालेको एकता खोजेको छ । सिंगो वामपन्थीहरूको एकता खोजेको छ ।’


Advertisement


जनमतको कदर  र सरकारको स्थायित्व खोजेको भन्दै राजनीतिक स्थायित्व दिँदै, पार्टी एकताबद्ध बनाउँ भनेर प्रधानमन्त्रीलाई आग्रह गरेको भट्टराईको भनाइ छ । उनले भने , ‘फागुन २३ पछाडि बसेको संसदीय दलको बैठकमा पहिलो पटक सहभागी भयौं । हामीहरुले पार्टी पूर्ववत् अवस्थामा फर्काएपछि पार्टीका सम्पूर्ण कमिटीहरु जेठ २ अघिकै अवस्थामा फर्किउ । यहाँबाट नयाँ ढंगले पार्टीलाई एकताबद्ध बनाएर लैजाऔँ । मुलुकको प्रधानमन्त्री हुनुको नाता र पार्टीको अध्यक्ष भएको नाताले एकताबद्ध बनाएर लैजान तपाईंले पहलकदमी लिनुस् भन्ने धारणा राखेका छौं ।’ 

आफूहरुले राखेका कुरालाई प्रधानमन्त्री ओलीले गम्भीरताका साथ लिएको पनि उनले बताए ।  ‘उहाँले आजलाई नयाँ घटनाका रुपमा चित्रित गर्नुभयो । अस्ति भाग नलिनु भएका साथीहरु पनि आउनुभयो । यसले नयाँ परिस्थिति चित्रित गरेको छ । म सँधै खुला छु, छलफल गरौं भन्नुभयो,’ भट्टराईले भने ।

बैठकमा  नेता झलनाथ खनाल, उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट र भट्टराईले आफ्ना धारणा राखेका थिए । 

साभार: रातोपाटी

Copy link
Powered by Social Snap