२०८१ पुष ९

सुशील यादव हत्या प्रकरण: मध्यरातमा गाँजा र ट्याब्लेटको नशाले लठ्याएर हत्या

काठमाडौं । सर्लाहीमा सुशील यादवको हत्या आरोपमा पक्राउ गरिएका आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ ।  चैत १२ मा २५ वर्षीय यादवको शव मलंगवास्थित खेतमा भेटिएको थियो । हत्या आरोपमा प्रहरीले कमल पण्डित उर्फ विमलकान्त पाठक र अशोक झालाई पक्राउ गरेको थियो । 


Advertisement


मलंगवा–९ का स्थानीय ४५ वर्षीय कमल पण्डित ‘बाबा’ हुन् । ४० वर्षीय अशोक भारतीय नागरिक हुन् । अशोक उनका भाञ्जा हुन् ।  मामा–भाञ्जा मिलेर सुशीलको हत्या गरेको अनुसन्धानबाट थाहा भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी मदन कुँवरले रातोपाटीलाई बताए । 

चैत ११ मा साँझ मलंगवा नगरपालिका–१० स्थित विमलकान्त पाठकको घरमा लगेर गाँजा र नाइट्रोभेट ट्याब्लेट खुवाएर लठ्याएपछि सुशीलको हत्या गरिएको थियो ।   मलंगवाको जिविस चोकमा रहेको शिवम् होटलमा मदिरा र मासु खाएर निस्केका मामा–भाञ्जाले साइकलमा आएका सुशीललाई भेट्छन् । 

‘तिमीसँग काम छ, गाँजा पनि खानुपर्छ’ भनेर पाठकले आफ्नो मोटरसाइकलमा राखेर सुशील र भान्जालाई घरमा लान्छन् ।  घरमा विमलकान्त र सुशीलकुमार यादवले लागुऔषध नाइट्राभेट ट्याब्लेट र गाँजा सेवन गर्छन् । काउली र भात खान्छन् । फेरि लागु औषध खुवाएर योजनाबद्ध रुपमा पाठकले सुशीललाई लठ्ठ बनाउँछन् ।  

‘नशामा लठ्ठ भएर प्रतिकार गर्न नसक्ने भएपछि मामा–भाञ्जा मिलेर डोरीले हातखुट्टा र गम्छाले मुख बाँधेर खेतमा लगेको अनुसन्धानबाट थाहा भएको छ’ डिएसपी कुँवरले भने–‘घर नजिकैको खेतमा लगेर मार हान्ने खुकुरी प्रहार गरेर हत्या गरेको देखिन्छ ।’ 

खुकुरी प्रहार गरेर घाँटी काटेपछि आरोपीले मृतकको शरीरमा बालुवा र माटो लगाएका थिए । खुकुरी घरमा ल्याएर सफा गरेर राखेको अवस्थामा प्रहरीले बरामद गरेको छ । 

हत्याको कारण ‘चोरी विवाद’

विमलकान्त पाठकको घरमा ६ महिनाअघि चोरी भएको थियो । घटना हुनुभन्दा केही दिनअघि मात्रै पनि पानी तान्ने मोटर र जुत्ता चोरी भएको विषयमा पाठक र सुशीलबीच विवाद भएको थियो । पाठकको आरोप थियो– ‘चोरी यादवले नै गरेका हुन् ।’

 चोरी–विवाद बढ्दै गएको थियो । डिएसपी कुँवर भन्छन्– ‘झगडा बढ्दै गएपछि सुशीलले आफैंलाई मार्न सक्ने आशंका गरेर विमलकान्तले योजना बनाएर नै उनको हत्या गरेको अनुसन्धानबाट खुलेको छ ।’ 

साभार: रातोपाटी

Copy link
Powered by Social Snap