१३ वैशाख, काठमाडौं । कोभिड–१९ को महामारीले काम रोकिएको ३७ मेगावाटको माथिल्लो त्रिशूली ३ ‘बी’ जलविद्युत आयोजनाको काम पुनःसुरु भएको छ । करिब १४ महिनापछि आयोजनामा फेरि काम सुरु भएको हो ।
नयाँ वर्ष मनाउन २०७६ माघको दोस्रो साता आफ्नो घर गएका चिनियाँ कामदारहरु कोभिड–१९ का कारण फर्कन सकेका थिएनन् । चीनबाट उपकरण तथा सामग्री ल्याउन नसक्दा पूर्ण रुपमा काम भइरहेको आयोजनाको निर्माण करिब ठप्पप्रायः थियो ।
Advertisement
ठेकदार चिनियाँ कम्पनी सिचुआन एएनएचई हाइड्रोइलेक्ट्रिक इक्जिनियरिङले अहिले मुख्य सुरुङ, विद्युत गृहलगायतका संरचना निर्माणको कार्य गरिरहेको आयोजनाको प्रबर्द्धक त्रिशूली जलविद्युत कम्पनी लिमिटेडका प्रबन्ध–सञ्चालक मोहनप्रसाद गौतमले बताए । अहिले निर्माणमा ६४ जना चिनियाँ र ८१ जना नेपाली श्रमिकहरु खटिएका छन् ।
‘नयाँ वर्ष मनाउन २०७६को माघमा आफ्नो देश गएका ठेकेदार कम्पनीका कर्मचारीहरु कोभिड–१९ का कारण फर्कन नसक्दा करिब १४ महिना निर्माण ठप्प भएको आयोजनाको निर्माण निरन्तरको प्रयासपछि सुरु भएको छ’, उनले भने ।
चीनसँगका भन्सार नाकाहरु अझै पूर्ण रुपमा नखुल्दा ठेकेदार कम्पनीले चीनमा खरिद गरिसकेका तथा खरिद आदेश दिई उत्पादन र प्याकेजिङको चरणमा रहेका निर्माण उपकरण तथा सामग्रीहरु ढुवानी गरी निर्माणस्थलसम्म ल्याउन नसकिरहेको उनले बताए ।
यसबाट धेरै प्रयास गरी पुनः आयोजनाको काम प्रभावित हुने जोखिम छ । चीनबाट उपकरण आयातका विषयमा ऊर्जा, जलस्रोत तथा सिंचाइ, अर्थ मन्त्रालयलगायतका निकायसँग आवश्यक समन्वय भइरहेको गौतमले उल्लेख गरे ।
जनताको जलविद्युत कार्यक्रमअन्तर्गत रसुवा र नुवाकोटमा निर्माणाधीन ३७ मेगावाटको माथिल्लो त्रिशूली ३ ‘बी’ जलविद्युत आयोजना फागुन २०७७ भित्र सक्ने लक्ष्य राखी निर्माण सुरु गरिएको थियो । महामारीले यस वर्षको हिउँदमा पनि काम सुरु हुन नसकेकाले आयोजनाको निर्माण २०७९ चैतभित्रमा सक्ने लक्ष्य राखिएको छ ।
इन्जिनियरिङ, खरिद तथा निर्माण ( ईपीसी ) मोडेलमा आयोजना निर्माणका लागि चिनियाँ कम्पनी सिचुआन एएनएचई हाइड्रोइलेक्ट्रिक इक्जिनियरिङसँग २९ माघ २०७४ मा ३ करोड १८ लाख ४७ हजार अमेरिकी डलर र १ अर्ब ९१ करोड ४६ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।
ठेकेदार कम्पनीले आयोजनाको सिभिल, इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकलतर्फका सम्पूर्ण संरचना र उपकरणको डिजाइन, निर्माण, जडान तथा सञ्चालन गर्ने छ । आयोजनाको समग्र भौतिक प्रगति ४७ प्रतिशत छ ।
आयोजनाको प्रबर्द्धक त्रिशूली जलविद्युत कम्पनी लिमिटेडमा जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानमन्त्री पत्नी राधिका शाक्य, तत्कालीन ऊर्जामन्त्री वर्षमान पुनः लगायतको २०/२० कित्ता सेयर छ । कम्पनीले सर्वसाधारणका ३७ लाख ५ हजार कित्ता सेयर निष्कासन गर्दा प्रधानमन्त्री, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रीलगायतले पनि खरिद गरेका थिए । आयोजनाको ३.८ किलोमिटर मुख्य सुरुङमध्ये १.८ किलोमिटर खनिएको छ । विद्युत गृहको पहिलो चरणको खन्ने र सपोर्टको काम क्रमशः ७६ र ३५ प्रतिशत सकिएको छ ।
नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको ६० मेगावाटको माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत आयोजनाको क्यास्केड भएकाले त्रिशूली ३ बीले बाँध, बालुवा थिग्रयाउने पोखरी (डिसेन्डर) लगायतका संरचना बनाउनु पर्ने छैन । ३ ‘ए’ को विद्युत गृहबाट निक्लिएको पानीलाई आयोजनाको सुरुङमा पठाउन आवश्यक पर्ने गेट जडान गरिसकिएको छ । ३ ‘ए’ को विद्युत गृहबाट निक्लिएको पानीलाई आयोजनाको सुरुङसम्म ल्याउनका लागि आवश्यक पर्ने ‘बक्स कल्भर्ट’ बनाउन सुरु गरिएको छ ।
आयोजनाको प्रवर्द्धक त्रिशूली जलविद्युत कम्पनी लिमिटेडमा प्राधिकरण र नेपाल टेलिकमको ३०/३० प्रतिशत संस्थापक सेयर छ । कम्पनीमा रसुवा तथा नुवाकोटका गाउँपालिका र नगरपालिकाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटका स्थानीय वित्तीय संस्थाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटबासीको १० प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत र प्राधिकरण तथा टेलिकमका कर्मचारीको ५ प्रतिशत सेयर रहने छ ।
अनुमानित निर्माण लागत ७ अर्ब ४४ करोड र निर्माण अवधिको प्रक्षेपित ब्याज ७८ करोड रुपैयाँ रहेको छ । आयोजनामा ३० प्रतिशत इक्विटी (२ अर्ब ४७ करोड) र ७० प्रतिशत ऋण(५ अर्ब ७६ करोड)बाट लगानी जुटाइएको छ ।
आयोजनाबाट सुख्खायाममा ( मंसिर १६ देखि जेष्ठ १५सम्म) १३ करोड ४८ लाख ८० हजार र वर्षायाममा ( जेष्ठ १६ देखि मंसिर १५ सम्म) १५ करोड ७७ लाख १० हजार युनिट विद्युत् उत्पादन हुनेछ ।
आयोजनाको विद्युत गृहबाट करिव ३ किलोमिटर प्रसारण लाइनमार्फत त्रिशूली ३ ‘बी’ हब सबस्टेसनमा पुर्याइ राष्ट्रिय प्रसारण लाइनमा प्रवाह गरिने छ ।
Credit: OnlineKhabar