१५ वैशाख, वीरगञ्ज । वीरगञ्जमा निशुल्क एम्बुलेन्स र औषधी सेवा सुरु गरिएको छ । निशुल्क अक्सिजन सेवा पछि वीरगञ्ज महानगरपालिकाले एम्बुलेन्स र औषधीको पनि निशुल्क सेवा सुरु गरेको हो ।
महानगरपालिकासँग एउटा एम्बुलेन्स र शवबाहनसमेत थिएन । अघिल्लो वर्ष कोरोना महामारीमा भारतीय नम्बर प्लेटको एम्बुलेन्समा संक्रमितको शव बोकिएको थियो ।
Advertisement
यसपटक महानगरपालिकाले ३१ लाख ७० हजार रुपैयाँमा दुई वटा एम्बुलेन्स खरिद गरेको छ । संक्रमितलाई अस्पताल पु¥याउन र संक्रमणबाट मृत्यु भएकालाई दाहसंस्कारका लागि लैजानुपर्दा यी एम्बुलेन्स प्रयोग गरिने महानगरपालिकाले जनाएको छ ।
संक्रमितलाई ८ प्रकारका औषधी निशुल्क
महानगरमा बुधबारबाटै होम आइसोलेसनमा भएका संक्रमितलाई औषधी वितरण सुरु गरिएको छ । नगर प्रमुख विजय कुमार सरावगीले वीरगञ्ज– ५ मा एकै परिवारका पाँच जना संक्रमितलाई औषधी वितरण गरेर सेवाको शुभारम्भ गरेका छन् ।
पेन्टा डीएसआर, डोलोपार, एजीमिन, सिट्रोन, भिटाजिन, डिभी ६० के, एसभीट, डोक्सी गरी ८ प्रकारका औषधी निशुल्क वितरण गर्न सुरु गरिएको महानगरपालिकाले जनाएको छ । औषधीको प्याकेटमा स्वास्थ्यकर्मीको नम्बर र खाने तरिकासमेत उल्लेख गरिएको छ ।
वीरगञ्जमा मात्रै ५ सय ३० जना संक्रमित होम आइसोलेसनमा छन् । कन्ट्याक्ट ट्रेसिङका क्रममा १ सय ७७ जना संक्रमित सम्पर्कमा आएका छैनन् । महानगरपालिकाका हेल्थ असिस्टेन्ट सुमन चन्द्र ठाकुरका अनुसार विगतमा भन्दा होम आइसोलेसनमा बस्ने संक्रमित सचेत देखिएका छन् । परिवारबाट टाढा नै बसिरहेका छन् । तर सम्पर्कमा नआएका संक्रमितले जोखिम बढाइरहेका छन् ।
बढ्दो कोभिड संक्रमणलाई ध्यानमा राखेर महानगरपालिकाले नगरबासीको सेवाका लागि अक्सिजन, एम्बुलेन्स र औषधी सेवा निशुल्क प्रदान गर्न लागेको नगर प्रमुख विजय कुमार सरावगीले बताए ।
‘संक्रमित भइसकेको अवस्थामा एम्बुलेन्स नपाएर अस्पताल जान नपाउने, अक्सिजन नपाएर छटपटाउने र सामान्य औषधीसमेत सेवन गर्न नपाएर मर्ने अवस्था आउन नदिन अभियान शुरु गरेका हौं’ उनले भने ।
१४ जनाले लगे अक्सिजन सिलिण्डर
महानगरले निशुल्क अक्सिजन वितरण गर्न ‘अक्सिजन बैंक’ को समेत स्थापना गरेको छ । अक्सिजन फिलिङ खर्च र आवश्यक समान लायन्स क्लबले दिएको छ । वीरगञ्ज हेल्थ केयरबाट १ सय ५० वटा अक्सिजन सिलिण्डरको बन्दोबस्ती मिलाएर महानगरले निशुल्क अक्सिजन सेवा सुरु गरेको छ ।
अक्सिजन बैंकबाट बुधबारदेखि नगरबासीले सेवा लिनसमेत थालेका छन् । नगरबासीले नागरिकता प्रमाणपत्रको प्रतिलिपी, कोभिड १९ संक्रमित भएको पुष्टी गर्ने रिपोर्टको प्रतिलिपी र अस्पताल÷चिकित्सकसँग जाँच गराएर अक्सिजन आवश्यक लेखिएको पुर्जाको प्रतिलिपी बुझाएर सेवा लिन सक्ने महानगरले जनाएको छ ।
लायन्स क्लब अफ वीरगञ्जका जोन चेयर पर्सन अनुप अग्रवालका अनुसार निशुल्क अक्सिजन सिलिण्डरका लागि दुई दिनमा ३० वटा जति फोन आइसकेको छ । १४ वटा सिलिण्डर वितरण भइसकेको छ ।
Credit: OnlineKhabar