


२३ वैशाख, काठमाडौं । चीनले अनुदान स्वरुप दिनलागेको २० हजार अक्सिजन सिलिण्डरमध्ये पहिलो लट एकसाता भित्र ल्याउने सरकारले कार्ययोजना बनाएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सार्वजनिक गरेको कार्ययोजनामा वैशाख ३१ गतेभित्र पहिलो लट अक्सिजन सिलिण्डर ल्याउने योजना उल्लेख गरेको छ । तर पहिलो लटमा कति संख्यामा सिलिण्डर ल्याउने भन्ने बारे कार्य योजनामा उल्लेख छैन ।
Advertisement



कार्ययोजनामा लेखिएको छ ‘चीन सरकारबाट अनुदान स्वरुप प्राप्त हुने २० हजार अक्सिजन सिलिण्डरमध्ये ढुवानी लगायतका सम्पूर्ण तयारी पूरा गरी पहिलो लट ल्याउने ।’ यो कामको जिम्मा अर्थ र परराष्ट्र मन्त्रालयलाई दिइएको छ । यसको समन्वय गर्न संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई भनिएको छ ।

कोरोना संक्रमणको दोस्रो लहरसँगै नेपालमा पनि अक्सिजन अभाव भएपछि चीनले अनुदान स्वरुप २० हजार अक्सिजन सिलिण्डर उपलब्ध गराउने घोषणा गरेको थियो । यहीबीचमा सरकारले भारतबाट पनि लिक्विड अक्सिजन आयातको कूटनीतिक पहल जारी राखेको छ ।
प्रधानमन्त्री कार्यालयको कार्ययोजनामा उद्योग तथा निर्माण क्षेत्रमा रहेका अक्सिजन सिलिण्डरहरु खिचेर कोभिड अस्पतालहरुलाई उपलब्ध गराउने उल्लेख छ ।
Credit: OnlineKhabar


