


२४ वैशाख, वीरगञ्ज। पर्साको छिपहरमाई गाउँपालिकाले १५ बेडको आइसोलेसन सेन्टर तयार पारेको छ । २४ अै घण्टा एमबीबीएस डाक्टरसहितको सेवा दिने गरि आइसोलेसन सेन्टर तयार पारेको हो । सेन्टरमा २ जना स्टाफ नर्स, २ जना स्वीपर, कार्यालय सहयोगी र गार्ड १÷१ जना खटाइएको छ ।
फिभर क्लिनिक सहित छिपहरमाई-२ सेढवामा १५ बेडको आइसोलेसन सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष मनोज गुप्ताले जानकारी दिए । ‘नीजि अस्पतालहरुमा उपचारका लागि जाँदा १ लाख रुपैयाँ त डिपोजिट नै माग्छन्, कोरोना संक्रमण भईहाले गरिबले उपचार पाउन नसक्ने अवस्था छ ।’
Advertisement



उनले भने ‘त्यसैले गाउँपालिकाले १५ बेडको आइसोलेसन सेन्टर तयार पारेर राखेको छ । त्यहाँ खाना खाजाको सुविधा सहित निशुल्क उपचार पनि गर्छौ ।’ आइसोलेसन सेन्टरमा २ वटा मात्रै अक्सिजन सिलिण्डर छ । ४ वटासम्म जोहो गर्न सकेको खण्डमा अत्यावश्यक पर्दा संक्रमितलाई दिन सकिने उनी बताउँछन् । ‘अक्सिजन सिलिण्डर पाएको छैन, २ वटा सिलिण्डर छ, २ वटा थप्न सके हुन्थ्यो भन्ने छ ।’
उनले भने ‘जिल्ला प्रशासन कार्यालयसँग पनि सिलिण्डर उपलब्ध गराउन अनुरोध गरेको छु ।’ पालिकामा तीन वटा वर्थिङ सेन्टर छ । जरुरी पर्दा ती पालिकामा भएका अक्सिजन सिलिण्डर पनि प्रयोग गर्न सकिनेगरि राखिएको छ ।

घरमा आफन्त नभई एक्लै रहेका मानिस संक्रमित हुँदा आइसोलेसनको सुविधा लिन सक्ने उनको भनाइ छ । गाउँपालिकाले गरिब असहायलाई गाउँपालिकाले निशुल्क उपचार गर्ने नीति लिएको समेत उनले बताए ।
‘कोरोना संक्रमण भइ वीरगञ्ज वा अन्यत्र अस्पतालमा उपचार गराउनुपर्दा नीजि होस वा सरकारी गरिब विपन्नका लागि पालिकाले खर्च बेहोर्छ ।’ उनले भने ‘ सक्नेले आफैंले बेहोर्ने, नसक्नेलाई पालिकाले हर्ने हो ।’
विपन्न परिवारले कोरोना संक्रमणका कारण अभिभावक गुमाएको खण्डमा परिवारका एक जना सदस्यलाई पालिकाले रोजगारी दिने निर्णय समेत गरिएको गाउँपालिका अध्यक्ष गुप्ताले जानकारी दिए ।
गाउँपालिकामा घर–घरमा ज्वरो, रुघाखोकी लागेका मानिसहरु बढेको र उनीहरुलाई स्वास्थ्यकर्मीको सल्लाह अनुसार उपचार गराउन आग्रह गरिरहेको पालिकाले जनाएको छ ।
बैशाख २२ गतेबाट सञ्चालनमा आएको आइसोलेसन सेन्टरमा दुई जना शंकास्पद संक्रमित सेवा लिईसकेका छन् । उनीहरुलाई टाईफाईड भएकोले औषधी दिएर घर पठाईएको आइसोेलेसन सेन्टरका इन्चार्ज डाक्टर अरुण गिरीले बताए ।
‘ कोभिड संक्रमितका लागि प्रयोग गरिने औषधी, सुईहरु तथा एन्टीजीन किट पनि आइसकेको छ, होम आइसोलेसनमा राख्नुपर्नेलाई होम आइसोलेसनमै पठाउँछौं, गम्भिर विरामीलाई वीरगञ्ज तथा अन्यत्रको अस्पतालमा पठाउँछौं ।’ उनले भने ‘ हामीसँग ल्याब पनि छ, हेमोग्लोबिन, टिसीडीसी, इएसआर, सिबीसी टाइफाईड, टीबी लगायतको परीक्षण गर्न सकिन्छ । ’
पालिका अन्तर्गत पर्ने १४ वटा गाउँमा ज्वरो आएको छ भने फिभर क्लिनिकमा जचाएर औषधी लैजानु भनेर सन्देश पुर्याइएको उनको दावी छ । कोभिड संक्रमित वा शंकास्पद संक्रमितलाई आकस्मिक सेवा दिन पालिकाले दुईवटा एम्बुलेन्स तयारी अवस्थामा राखेको छ । वडा नं ५ भिश्वामा ८७ लाखको लागतमा सरुवा रोग अस्पताल निर्माणाधिन रहेको छिपहरमाई गाउँपालिकाले जनाएको छ ।
Credit: OnlineKhabar


