


२४ वैशाख, बाँके । कोरोना सङ्क्रमणबाट नेपालगञ्जमा एकाघरका तीन दाजुभाइको अकालमा मृत्यु भएको छ । मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका –३ निवासी इम्तियाज, एजाज र जहीर अहमद रहेका छन् ।
जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीका अनुसार उनीहरुको एकएक दिनको अन्तरालमा मृत्यु भएको हो । जहीरको मृत्यु भएको भोलिपल्ट एजाजको मृत्यु भएको थियो । आज विहान इम्तियाजको मृत्यु भएको स्रोत व्यक्ति वलीले बताए । सात दाजुभाई मध्ये जहीर कान्छा , एजाज राइलो र इम्तियाज काइलो हुन् ।
Advertisement



उनीहरु सबैको भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । नेपालगञ्जको विपिचोक नजिकै व्यापार गर्दै आएका जहिरको बुधबार, एजाजको बिहीवार र इम्तियाजको आज मृत्यु भएको हो । एउटै परिवारको तीन दाजुभाईको मृत्युपछि परिवारमा बज्रपात परेको स्थानीय रसिद कुरेशीले बताए ।

बिहीवार रातीमात्रै बाँकेका अस्पतालमा भर्ना भएका थप १० कोरोना सङ्क्रमित बिरामीको उपचारकाक्रममा मृत्यु भएको थियो ।
हालसम्म बाँकेमा सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १६९ जना पुगेको छ भने उपचारका लागि बाहिरी जिल्लाबाट बाँके आएका १३० जनाको मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले जनाएको छ ।
Credit: OnlineKhabar


