


२४ वैशाख, पोखरा । नेकपा एमालेको गण्डकी प्रदेशका जिल्ला अध्यक्षहरुले पार्टी एकता जोगाउन अपिल गरेका छन् । गण्डकीका ११ जिल्ला अध्यक्षहरुले संयुक्त वक्तव्य जारी गर्दै एकता जोगाउन नेताहरुसँग आग्रह गरेका छन् ।
‘यो अन्तरसंघर्षले पार्टीलाई क्षति पु¥याइरहेको हामीले महसुस गरिरहेका छौं । कम्युनिष्ट पार्टीको इतिहास, मूल्य मान्यता र जनताप्रतिको जवाफदेहितालाई आत्मसाथ गर्दै हाम्रा आदरणीय नेताहरुलाई एकताबद्ध भई नेकपा (एमाले) पार्टीलाई जोगाउन अनुरोध गर्दछौं’, वक्तव्यमा उल्लेख छ ।
Advertisement



नेताहरु बसेर छलफल गर्दा पार्टीको एकता जोगिने संभावना रहेकाले संयुक्त आग्रह गरेको लमजुङका अध्यक्ष धनञ्जय दवाडीले अनलाइनखबरलाई बताए । ‘अहिलेको आवश्यकता पार्टी एकता नै भएकाले आग्रह गरेका हौं । एकैठाउँ बस्नुको विकल्प छैन’, उनले भने ।
दवाडीसहित कास्कीका कृष्णबहादुर थापा, तनहुँका केदार सिग्देल, गोरखाका प्रेमबहादुर गुरुङ, पर्वतका पदम गिरी, बाग्लुङका ईन्द्रलाल सापकोटा, म्याग्दीका हरिकृष्ण श्रेष्ठ, मुस्ताङका चन्द्रमोहन गौचन, मनाङका पाल्देन छोपेन गुरुङ र नवलपुरका अध्यक्ष रोसन गाहाले वक्तव्यमा हस्ताक्षर गरेका छन् ।
माओवादीबाट आएका स्याङ्जा जिल्ला अध्यक्ष सूर्यप्रसाद शर्मा (पारस) बाहेक बाँकी अध्यक्षहरु २ जेठ २०७५ अगाडिको एमाले जिल्ला अधिवेशनबाट निर्वाचित हुन् ।

‘हाम्रो माग पार्टीलाई एकताबद्ध बनाउन २ जेठ अगाडिकै अवस्था लैजान सकिन्छ भन्ने हो । एकता जोगाउन धेरै काम गर्न जरुरी नै छैन’, बाग्लुङका अध्यक्ष सापकोटाले भने । नेताहरु बीच सम्वाद हुन सकेमा पार्टी एकता जोगिने सापकोटा बताउँछन् ।
शीर्ष नेताहरु मिल्नेतिरभन्दा पनि विभाजित हुने र पार्टीलाई अझ कमजोर बनाउनेतिर लागिरहँदा कार्यकर्तामा चिन्ता बढेको कास्की अध्यक्ष कृष्ण थापाले बताए ।
‘अभिभावकले घरलाई हरिकंगाल बनाएर हस्तान्तरण गर्ने कि सम्पन्न बनाएर हस्तान्तर गर्ने भन्ने प्रश्न हो । जनताको लेबलमा के भइरहेको छ, के भनिरहेका छन् भन्ने न नेताहरुलाई सुन्नु परेको छ, न बसेर काम गर्नुपरेको छ,’ थापाले भने, ‘पार्टी र सत्ताको नेतृत्वमा बस्ने र हस्तान्तरण गर्ने बेलामा गरिब अवस्थामा सुम्पिन पाउनुहुन्न भन्ने हाम्रो आवाज हो ।’
Credit: OnlineKhabar


