


गण्डकी प्रदेशका सांसद खिम विक्रम शाही कोरोना संक्रमण मुक्त भएका छन् । उनी वैशाख १५ गते संसद चलिरहेको अवस्थामा एकाएक बेपत्ता भएको भन्दै संसद नै स्थगित भएपछि साँझ कोरोना संक्रमित भएर अस्पताल भर्ना भएको खुलेको थियो ।
सांसद शाहीको नवौँ दिनमा गरिएको कोरोना परीक्षणमा रिपोर्ट नेगेटिभ आएको बताइएको छ । कोरोना संक्रमण भएपछि सांसद शाही चार रात पोखरास्थित चरक मेमोरियल अस्पतालको कोभिड वार्डमा बसेका थिए । चार दिन अस्पतामा बिताएपछि १९ गतेदेखि होटलको क्वारेन्टिनमा बसेका उनीको शुक्रबार दिएको स्वाब परिक्षणको रिपोर्ट नेगेटिभ आएको हो ।
Advertisement



वैशाख १५ गते मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्धको अविश्वास प्रस्तावमा मतदान गर्ने कार्यक्रम तय भएको अवस्थामा सांसद शाही बिना सूचना बेपत्ता भएका थिए । बिनासूचना सांसद बेपत्ता भएपछि राष्ट्रिय जनमोर्चाकी सचेतक सांसद पियारी थापाले आफ्नो पार्टीका सांसद शाही बेपत्ता भएकाले उनको अवस्था सार्वजनिक नहुँदासम्मका लागि संसदको बैठक स्थगित गर्न माग गरेकी थिइन् । त्यसपछि सभामुख नेत्रनाथ अधिकारीले सांसद बेपत्ता भएको सूचनापछि अनिश्चितकालका लागि संसद स्थगित गरेका थिए ।

त्यसपछि खोजी गर्नेक्रममा सांसद शाही चरक अस्पतालको आईसीयूमा भेटिएका थिए । उनलाई राज्य पक्षले नै बेपत्ता पारिएको भन्दै विभिन्न टिकाटिप्पणी गरिँदै आएको छ । सांसद शाही वेपत्ता भएपछि स्थगित भएको प्रदेशसभा बैठक सोमबार ११ बजे बस्दै छ ।
साभार: रातोपाटी


