


कोरोना संक्रमित बिरामीलाई चाहिने अक्सिजनको जिम्मा रौतहट प्रहरीले लिएको छ । जिल्लामा अक्सिजनको अभावमा कुनै पनि संक्रमितले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले ग्यास व्यवस्थापनको जिम्मा लिएको रौतहट प्रहरी प्रमुख एसपी सिद्धीबिक्रम शाहले बताएका छन् ।
Advertisement



गौरस्थित अस्थायी कोभिड अस्पतालमा अक्सिजन अपुग हुँदा उपचाररत संक्रमित बिरामीको सुविधाको लागि प्रहरीले अक्सिजन उपलब्ध गराएको छ । संक्रमित १४ जना बिरामीलाई उपचारका लागी प्रति सिलिन्डर सात किलो ६०० ग्राम अक्सीजन रहेको २३ वटा सिलिन्डर शनिवार राति १० बजे गौर अस्पतालका मेडिकल अफिसर डाक्टर घनश्याम ठाकुरको जिम्मा लगाएको एसपी शाहले जानकारी दिएका छन् ।
संक्रमितको उपचारको लागि हाल अत्यावश्यक अक्सिजनको जिल्लामा कालोबजारी भइरहेको सूचनाको आधारमा प्रहरीले गरुडा, गौरलगायतका स्थानमा छापा मारी साढे सात किलो अक्सिजन सहितको ४३ वटा सिलिन्डर बरामद गरेको थियो ।

साथै जिल्लामा केही व्यापारीले अक्सिजन स्टक गरिराखेको सूचना आएकाले प्रहरीले खोजी कार्यलाई तीव्रता दिएको छ । बरामद सिलिन्डर मध्ये २३ वटा गौर अस्पताललाई दिएको र बाँकी २० वटा जिल्ला प्रहरी कार्यालय रौतहटको नियन्त्रणमा रहेको छ ।
प्रहरी प्रमुख एसपी शाहले जिल्ला अस्पताल गौरमा खाली रहेको १३८ सिलिन्डर र जिल्ला स्थित केही कम्पनीसँग खाली सिलिन्डरको माग गरेको बताएका छन् । खाली सिलिण्डरहरुमा ग्यास भरेर मगाउने र स्टक रहेको तथा थप अक्सिजन कोरोना संक्रमितको उपचारको लागी आउने माग अनुसार पुरा गर्ने योजना रहेको उनले जानकारी गराएका छन ।
अक्सिजन ग्यास व्यवस्थापनको जिम्मा प्रहरीले लिनु सराहनीय काम भएको रौतहटका प्रजिअ ईन्द्रदेव यादवले बताएका छन् । शनिवार साँझसम्म रौतहटमा पुष्टि भएका कुल ३२९ संक्रमित मध्ये ७३ महिला, २१९ पुरुष रहेका छन् ।
सक्रिय संक्रमितमध्ये केही जिल्ला अस्पताल गौर, केही अस्थायी अस्पताल चन्द्रपुरमा उपचार भइरहेको छ भने अधिकांश होम आइसोलेसनमा रहेका छन् । शनिवार साँझसम्म रौतहटमा १४ जना कोरोना संक्रमितले ज्यान गुमाइसकेका छन् ।
साभार: रातोपाटी


