


काठमाडौँ । जनता समाजवादी पार्टी नेपालको पदाधिकारी बैठक बस्ने भएको छ । जसपा नेपाल संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईको निवासमा आज २ बजे पदाधिकारी बैठक बस्ने भएको हो । बैठक बस्नुअघि जसपा नेपालका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा अ‍ोलीलाई भेटेका छन् ।
सत्ता समीकरणलाई लिएर पार्टीमा आन्तरिक विवाद चर्किएपछि पार्टीको पदाधिकारी बैठक प्रभावित हुँदै आएको थियो । कार्यकारिणी समितिको बैठकबारे छलफल गर्न वैशाख १४ गते पदाधिकारी बैठक बसेको थियो । त्यसपछि लकडाउन सुरु भएका कारण बैठक बस्न नमिल्ने निर्णय भएको थियो ।
Advertisement



अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले कार्यकारिणी समितिको बैठक बस्न नमानेपछि अर्का अध्यक्ष उपेन्द्र यादवले कार्यकारिणी समितिको छुट्टै बैठक बसाएको दावी गरिएको छ । सोही बैठकले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई समर्थन गरेका चार प्रदेश सांसदलाई कारवाही गरेपछि पार्टीमा विवाद चुलिएको हो ।

आज बस्ने बैठकले भोलि संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले लिने विश्वासको मत बारेमा छलफल गर्ने र आधिकारिक निर्णय लिने बताइएको छ ।
साभार: रातोपाटी


