


काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुष्पकमल दाहालले प्रतिनिधिसभासँग ‘विश्वासको मत माग्ने नैतिक अधिकार रहेको छ ?’ भनेर प्रश्न गरेका छन् ।
प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले विश्वासको मतको प्रस्ताव राखेपछि सोमबार बोल्दै दाहालले सोधे, ‘प्रधानमन्त्रीजी, यो सदनसँग, यी माननीयसँग विश्वासको मत माग्ने तपाईंलाई नैतिक अधिकार छ र ?’
प्रधानमन्त्री ओली प्रतिनिधिसभा विघटन गर्ने मनसायका साथ विश्वासको मत लिएर आएका हुन् कि भन्ने आशंका पनि व्यक्त गरेका थिए ।
Advertisement



उनले राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलीय बैठकमा पनि प्रतिनिधिसभा फेरि विघटन गर्ने अभिव्यक्ति दिएको बताए ।
विगतमा प्रतिनिधिसभा विघटन गर्ने बुझेर माओवादीले समर्थन जारी राखेको दाहालको भनाइ थियो ।
अहिले विश्वासको मत लिने कुरा स्वाभाविक, प्राकृतिक नलागेको र नाटकीय लागेको दाहालले बताए । नियमित अधिवेशन बोलाउनुपर्ने बेलामा विश्वासको मत माग्नका लागि अधिवेशन बोलाएकोले आशंका लागेको उनको भनाइ थियो ।

बजेट अधिवेशन बोलाउनुपर्ने बेलामा यो अधिवेशन बोलाएर कतै संवैधानिक प्रक्रिया छल्न खोजेको हो कि भन्ने आशंका लागेको दाहालको भनाइ थियो ।
उनले संविधानमा यसरी अधिवेशन बोलाउने व्यवस्था नरहेको भनाइ राखे । प्रधानमन्त्रीले अपनाएको प्रक्रिया लोकतान्त्रिक र संविधानसम्मत नरहेको उनले भनाइ राखे ।


