


काठमाडौं । सर्वोच्च अदालतले औषधि र अक्सिजनको सहज आपूर्ति बनाउन, थप स्रोत–साधनयुक्त अस्पतालहरू सञ्चालनमा ल्याउनका साथै बिरामीको चापलाई ख्याल गरी तत्काल अस्पतालहरुमा जनशक्तिको आपूर्ति गर्न सरकारलाई अन्तरिम आदेश दिएको छ ।
Advertisement



राष्ट्रिय मानव अधिकार आयोगका पूर्व सदस्यसमेत रहेकी अधिवक्ता मोहना अन्सारी र अधिवक्ता शैलेन्द्र अम्बेडकरले दायर गरेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले मंगलबार यस्तो अन्तरिम आदेश जारी गरेको हो ।
सर्वोच्च अदालतका न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले विपक्षीहरूलाई जेठ ७ गतेभित्र लिखित जवाफ पेश गर्नसमेत आदेश दिएको छ ।

विषय वस्तुको गाम्भीर्यता समेतलाई ध्यानमा राखी विवादको निरुपण यथासमयमा हुनुपर्ने भन्दै इजलासले जेठ ९ गते नियमानुसार पेश गर्न आदेशसमेत दिएको छ ।
रिट निवेदकले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र लुम्बिनी प्रदेशका साथै ६ वटा प्रदेशविरुद्ध रिट दायर गरेका थिए । देशभरका सबै अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गर्न वा पर्याप्त अक्सिजन तथा औषधिको आपूर्ति गर्न, कोरोना अस्पताल निर्माण गर्न, बिरामीको चापलाई ख्यालगरी अस्पतालहरुमा तत्काल डाक्टर र नर्स भर्ना गर्न, भ्याक्सिनको व्यवस्थापन गर्न, बिरामीहरुसँग चर्को रकम असुल्ने अस्पतालहरुलाई कारवाही गर्न रिट निवेदकहरुले माग गरेका छन् ।
साभार: रातोपाटी


