२०८१ पुष ७

काठमाडौँको निषेधाज्ञामा थप कडाइ : के–के गर्न पाइन्छ, के पाइँदैन ?

काठमाडौं । काठमाडौं उपत्यकामा जेठ १३ सम्म निषेधाज्ञाको समय थपेसँगै केही नयाँ निर्णय गरिएको छ ।  यसअघि १५ जनासम्म भेला भएर ब्याङ्क्वेट र होटलमा विवाह गर्न पाउने नियम परिवर्तन गरिएको छ । घरमा १० जनाभन्दा धेरै भेला हुन नपाउने

काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकमा सहभागी भएका ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतका अनुसार बैङ्क्वेट र होटलमा हुने विवाहमा पूर्ण प्रतिबन्ध लगाइएको हो । घरमा आयोजन गरिने वैवाहिक कार्यक्रममा चाहिँ १० जनाभन्दा कम मानिस मात्रै उपस्थित भएर विवाह गर्न पाउँछन् । 

राष्ट्रिय प्राथमिकता प्राप्त विकास आयोजना बाहेक अन्य विकास, निर्माणका काममा रोक लगाउने निर्णय गरिएको छ । सहायक प्रजिअ बस्नेतले भने–‘निजी निर्माण कार्यमा पनि रोक लगाउने निर्णय गरिएको छ । 


Advertisement


कालिमाटी र बल्खुको तरकारी बजारबाट खुद्रा तरकारी किनबेचमा रोक लगाइएको छ । मंगलबार बसेको प्रमुख जिल्ला अधिकारीहरुको बैठकले तरकारी बजार पनि संक्रमणको स्रोत भएको निष्कर्ष निकालेका छन् । 

किराना पसल र डिपार्टमेन्ट स्टोर विहान १० बजेसम्म खोल्न दिने निर्णय गरिएको छ । यसअघि ९ बजेसम्म मात्रै खोल्न दिइएको थियो । बैंक तथा वित्तिय संस्थाका कार्यालय २५ प्रतिशत मात्र खोल्न निर्देशन दिएपनि त्यसभन्दा बढी खुलेको निष्कर्ष निकाल्दै प्रशासनले अनुगमन गर्ने निर्णय गरेको छ । 

उपत्यकाका सरकारी कार्यालयबाट अत्यावश्यक बाहेकका सेवा प्रवाह स्थगित गरिएको छ । सरकारी कार्यालयमा आन्तरिक कामका लागी थोरै कर्मचारी कार्यालय जाने र कर्मचारीलाई पनि अनावश्यक हिँडडुलमा रोक लगाउने निर्णय गरिएको सहायक प्रजिअ बस्नेतले बताए । 

Copy link