२०८१ पुष ७

कर्णालीमा नयाँ ३ मन्त्री नियुक्त, एक मन्त्रालय फुटाइयो

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । मुख्यमन्त्री शाहीले बुधबार तीन नयाँ अनुहारलाई मन्त्री नियुक्त गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् स्रोतले रातोपाटीलाई बतायो ।

मन्त्री बन्नेमा रुकुम पश्चिमका गोपाल शर्मा (आर्थिक मामिला तथा योजनामन्त्री), सुर्खेतका बिन्दमान विष्ट (आन्तरिक मामिला तथा कानुनमन्त्री) बनेका छन् ।  यस्तै माओवादी केन्द्रकी समानुपातिक सांसद तथा प्रमुख सचेतक सीता नेपाली पनि मन्त्री बनेकी छिन् । उनी जलस्रोत मन्त्री बनेकी छिन् ।  भौतिक पूर्वाधार मन्त्रालय फुटाएर जलस्रोत मन्त्रालय बनाएर नेपालीलाई मन्त्रीको जिम्मेवारी दिइएको मुख्यमन्त्री कार्यालय स्रोतले बताएको छ।


Advertisement


आजै कर्णाली सरकारका दुई मन्त्रीले राजीनामा दिएपछि मुख्यमन्त्रीले तीन नयाँ अनुहारलाई क्याबिनेटमा ल्याएका हुन् । राजीनामा दिनेमा आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी र आर्थिक मामिलामन्त्री विमला केसी रहेका थिए ।

राजीनामा दिनेहरु माओवादी केन्द्रकै मन्त्रीहरु हुन् । उनीहरुले राजीनामा दिनुको कारण खुल्न सकेको छैन । गत वैशाख ३ गते कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले विश्वासको मत हासिल गरेका थिए ।  विपक्षमा मतदान गरेको नेकपा एमालेका ४ सांसदले ह्वीप उल्लंघन गर्दै मुख्यमन्त्री शाहीको पक्षमा मतदान गरेपछि शाही नेतृत्वको सरकार जोगिएको थियो ।  शाहीले ह्वीप उलंघन गरेपछि एमालेको कारबाहीमा परेकामध्ये ३ जनालाई मन्त्री समेत बनाएका छन् ।

साभार: रातोपाटी

Copy link