


सामाजिक सञ्जालमार्फत् अभियान चलाएर चार जनाले युवाले जिल्ला अस्पताल सल्यानलाई २० थान अक्सिजन सिलिन्डर दिएका छन्।
कोरोना संक्रमित अक्सिजन नपाएर छटपटाउन थालेपछि वैशाख अन्तिम सातादेखि उनीहरूले फेसबुकमार्फत् ‘अक्सिजन सिलिन्डरका लागि मेरो एक हजार’ अभियान चलाएका थिए।
जसबाट एक सातामै पाँच लाखभन्दा बढी रकम संकलन भएपछि २० थान सिलिन्डर किनेर अस्पताललाई दिएको अभियन्ता गोविन्द (आभास) शर्माले जानकारी दिए।
ठूलोखाले अक्सिजन सिलिन्डर २० वटा आइतबार उद्योग वाणिज्य संघ सल्यानका अध्यक्ष कुमार बुढाथोकीको उपस्थितिमा अस्पताल प्रशासनलाई दिएको शर्माले बताए।
Advertisement



‘अक्सिजनको अभावमा अस्पतालमा बिरामी छटपटाइरहेको खबर सुन्दा हामी चुप लागेर बस्न सकेनौं,’ शर्माले भने, ‘बिरामीका आफन्तको पुकारलाई केन्द्रमा राखेर हामीले थालनी गरेको अभियानमा देश बिदेशबाट सहयोग गर्ने सबैलाई हामी विशेष धन्यवाद दिन चाहन्छौं।’
पत्रकारसमेत रहेका अर्का अभियन्ता आशिष केसीले आठ दिनमा पाँच लाख २१ हजार रकम संकलन भएको र त्यसमध्ये चार लाख ४० हजारमा अक्सिजन सिलिन्डर किनेको बताए।

बचेको पैसाले अत्यावश्यक पर्दा अस्पतालका बिरामीलाई अन्य यस्तै सहयोग गरिने उनले बताए। देश-विदेशबाट मानिसहरूले आफ्नो खर्च कटाएर रकम पठाएको हुँदा अक्सिजन सिलिन्डरको सही सदुपयोग हुने विश्वास केसीले व्यक्त गरे।
एक हप्ताअघि हपिस भण्डारी, आशिष केसी, गोविन्द (आभाष) शर्मा र टेकराज शाहीले उक्त अभियान सञ्चालन गरेका थिए।


