


असहायलाई आश्रम दिंदै आएको मानव सेवा आश्रमले मास्क उत्पादन सुरु गरेको छ। आश्रितहरुका लागि आवश्यक खाद्यन्नका लागि रकम जुटाउनका लागि भन्दै आश्रमले मास्क उत्पादन गरेको हो।
सँधै दान र चन्दाबाटमात्र भन्दा पनि दीर्घकालिन आम्दानीको स्रोत जुटाउन सानो प्रायस स्वरुप मास्क उत्पादन सुरु गरिएको आश्रम सञ्चालकमध्येका एक सुमन मानवसेवाले जानकारी दिए।
कतिपय आश्रमहरुमा भोलिका चाहिने खाद्य सामग्रीको अभाव हुन थालेको भन्दै उनले मास्क बिक्रीको आम्दानीबाट खर्च जोहो गर्न खोजिएको बताए।
देशभर २३ वटा आश्रम रहेको मानवसेवाका काठमाडौंमा मात्र पाँचवटा छन्। सबैमा गरी १ हजार ६ सय आश्रति रहेको उनले जानकारी दिए।
Advertisement



‘आत्मनिर्भर हुनुपर्छ भन्ने मनमा चाही छ तर तत्काल ठूलो काम सम्भव छैन। सुरुवात सानैबाट भएपनि गरौं भनेर हाम्रा सक्षम लक्ष्मीनारायणहरुको साथमा मास्क उत्पाद सुरु गरेका छौं । हाम्रो उत्पादन मुल्य २ रुपैयाँ परेको छ ।
त्यसभन्दा बढी जे प्राप्त हुन्छ त्यसबाट आश्रमका आमाबुवाहरुको लागि खाद्यन्न खरिद गर्नेछौं । हामी दिनमा ५ हजार पिस उत्पादन गर्न सक्छौं’उनले भने ।
आश्रमले उत्पादन गरेका मास्कको बिक्री वितरणमा सहयोग गरिदिन पनि उनले आग्रह गरेका छन्। बिक्री वितरणमा सहयोग गर्न चाहनेका लागि ९८४३३४७६०७ फोन नम्बरमा सम्पर्क गर्नसकिने उनले जानकारी दिए।

सामन्य अवस्थामा देशभित्रकै मान्छेहरुले सहयोग गरेर आश्रमको खाद्यन्न व्यवस्थापन हुँदै आएपनि लकडाउनपछि रोकिएको उनले जानकारी दिए।
‘पहिले दानी व्यक्तीहरु आएर खाना खुवाउने लगायतका काम गर्नुहुन्थ्यो। तर अहिले भने त्यो रोकिएको छ। त्यसैले हामीलाई समस्या भएको छ’ उनले भने।


