२०८१ मंसिर ५

सात प्रदेशमा अस्थायी अस्पताल र सर्वदलीय संयन्त्र बनाउन काँग्रेसमा प्रस्ताव

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोभिड– १९ बारे पार्टीभित्र प्रदेशस्तरीय परामर्श गरिरहेको छ । काँग्रेसको कोभिड–१९ अनुगमन समितिले आइतबार कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेश स्तरीय नेता कार्यकर्तासँग परामर्श गरेको थियो । सोमबार पनि परामर्शलाई निरन्तरता दिइएको छ ।

पहिलो चरणमा गण्डकी प्रदेश स्तरीय परामर्श कार्यक्रममा सभापति शेरबहादुर देउवाले सरकार जनताप्रति संवेदनशील नदेखिएको बताए । भर्चुअल परामर्शमा उनले भने, ‘कोरोना महामारीमा पनि भ्रष्टचार भइरहेको छ । कोभिड भ्याक्सिन खरिदमा कमिसनका कारणले ढिला भइरहेको छ । सरकार अत्यन्तै गैरजिम्मेवार भयो ।’


Advertisement


जनताले अत्यन्तै दुःख पाएको र देशमा संकट आइलागेको भन्दै देउवाले भने, ‘‘नागरिक मरिराखेका छन् । सरकार न आफू गर्छ न कसैको कुरा सुन्छ । अस्पतालमा बेड, अक्सिजन र उपचार नपाएर जनताको मृत्यु भइरहेको छ । सरकार नचाहिने काममा व्यस्त भएको छ । अब हामीले सक्ने सबै सहयोग गर्नुपर्छ ।’

उनले स्थानीय, प्रदेश, जिल्ला प्रदेश र केन्द्रको पार्टीपङ्क्ति जिम्मेवार बन्नुपर्ने बेला आएको बताए । उनले भने, ‘स्थानीय सरकार र पार्टी संयन्त्रबाट जनताको सेवा गर्न लागौँ । कोरोना रोकथाममा पनि लागौँ ।’

केन्द्रमा आफूहरुले सरकारलाई पनि खबरदारी गरिरहेको तथा अन्तर्राष्ट्रिय समुदायलाई पनि कोभिड भ्याक्सिन र अक्सिजनका कुरा अनुरोध गरिराखेको देउवाले सुनाए । ‘हामी पनि लाग्छौँ, तपाईंहरु पनि आ–आफ्नो ठाउँबाट सरकारलाई दबाब दिनुस्, आफूले सक्ने कुरामा जनताको सेवामा लाग्नुहोस्,’ देउवाले निर्देशन दिएका थिए ।

यस्तै, कार्यक्रममा काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोना रोकथामका लागि सरकारले देशमा अनुशासन कायम गर्न नसकेको बताए । ‘व्यक्तिगत अनुशासनले मात्र कोरोनाबाट जोगिन सकिन्छ । सरकारले देशमा अनुशासन कायम गर्न सकेन । सरकार जिम्मेवार नहुँदा जनताले दुःख पाएका छन् । यतिबेला हामी जिम्मेवार बन्नुपर्छ,’ उनले भने ।

गाउँ–गाउँका अस्पताललाई सशक्त बनाउँदै त्यहीँ उपचारको प्रबन्ध मिलाउनुपर्नेमा उनको जोड थियो । साथै उनले सरकारको पक्षपात रोक्न र जिम्मेवार बोध गराउने कुरामा लाग्न सबैलाई आह्वान पनि गरे ।

शशांक कोइरालाले नेपालमा कोरोना नियन्त्रणका लागि भारतबाट आउनेलाई क्यारेन्टिनमा राख्नुको विकल्प नभएको बताए । सरकारले भारतबाट आएको नागरिकलाई क्वारेन्टिनमा राख्ने प्रबन्ध गर्न नसक्दा अहिलेका अवस्था आएको कोइरालाको भनाइ छ ।

‘भारतमा दुई लाख ७० हजार मान्छे मरिसके । दिनमा करिब–करिब ४ लाख संक्रमित भइरहेका छन्,’ कोइरालाले भने, ‘तर भारतबाट आएकालाई क्वारेन्टिनमा राख्ने प्रबन्ध गरिएको छैन ।’ यसका लागि आफूहरुले सरकारलाई संसदबाट दबाब दिने उनले बताए । यस्तै सबै एक जुट भएर कोभिड १९ विरुद्ध जेहाद छेड्नुपर्ने पनि कोइरालाले बताए ।

कार्यक्रमा पार्टीको केन्द्रीय संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठले कोरोना रोकथाम र नियन्त्रणमा सरकारले केही काम नै गर्न नसकेको बताए ।

‘यतिबेला विकास निर्माणका काम रोकेर भए पनि नागरिकको जीवन जोगाउन लाग्नुपर्छ । देशभर अक्सिजनको कमी छ । आईसीयू नभएका कारण धेरैले जना गुमाउनु परेको छ । यो अत्यन्त लाज मर्दो कुरा छ,’ उनले भने ।

विदेशस्थित नेपाली राजदूतले कोरोना भ्याक्सिन र उपचार सामग्रीको जुटाउने कुरामा कुनै पहलकदमी नलिएको श्रेष्ठले बताए । पार्टीका नेता कार्यकर्तालाई सबै कुरा थाँती राखेर आफू बाच्ने र अरुलाई बचाउने कुरामा जुट्न उनको आह्वान छ ।

गण्डकी प्रदेशका काँग्रेस केन्द्रीय सदस्य चीनकाजी श्रेष्ठ, सुरेन्द्र पाण्डे, गोविन्द भट्टराई, धनराज गुरुङ, जीवन परियार, प्रदीप पौडेलले पनि प्रदेशस्तरीय संयन्त्र बनाएर जानुपर्नेमा बताएका थिए ।

धनराज गुरुङले सात वटै प्रदेशमा प्रदेश संसदीय दलका नेतालाई संयोजक बनाउनुपर्ने प्रस्ताव अघि सार्दै सम्बन्धित जिल्लाका सभापतिलाई व्यवस्थापकको जिम्मेवारी दिनुपर्ने बताए । काँग्रेसको अग्रसरतामा प्रदेशमा अक्सिजनसहितको अस्थायी अस्पताल बनाउन गुरुङको सुझाव छ । सोही खालको धारणा केन्द्रीय सदस्य भट्टराईले पनि राखे । उनले भने, ‘पार्टीले काँग्रेसका नेता कार्यकर्तालाई सहयोगका लागि आह्वान गर्ने पनि भन्नुपर्छ । काँग्रेसले एउटा कोष खडा गर्नुपर्छ ।’ अस्थायी अस्पताल बनाउन पार्टीका सबै नेता कार्यकर्तासँग हैसियत अनुसारको सहयोगका लागि सभापतिले आह्वान गर्ने पर्ने नेताहरुको भनाइ छ ।

यस्तै केन्द्रीय सदस्य परियारले सर्वदलीय संयन्त्र बनानुपर्ने सुझाव दिए । केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टीका भौतिक संरचना अस्थायी अस्पताल बनाउने सकिने धारणा राखेका थिए । उनले भने, ‘पार्टीका भौतिक संरचना अस्थायी अस्पताल बनाउन सकिन्छ कि ? केही ठाउँमा काँग्रेसले पार्टी कार्यालयलाई अस्थायी अस्तालका रुपमा दिएको छ । यसमा पनि जोड दिनुपर्छ ।’ विभिन्न माध्येमबाट कोरोना महामारीबाट बच्ने उपायबारे चेतना विस्तारका लागि कार्यक्रम सञ्चालन गर्नुपर्ने पौडेलको भनाइ छ ।

यस्तै केन्द्रीय सदस्य पाण्डेले कोरोनाबारे छलफल गर्न केन्द्र र प्रदेशसभाको बैठकका लागि विशेष आग्रह गर्नुपर्ने बताए । ‘काँग्रेसले सरकार बनाउने विषयमा संसद बैठक बोलाउछ भन्ने सन्देश गएको छ । नागरिकको जीवन रक्षामा पनि काँग्रेस गम्भीर छ भन्ने सन्देश दिनुपर्छ,’ उनले भने । संसदबाटै सरकारलाई दबाब सिजर्ना गर्नुपर्ने पाण्डेको भनाइ छ ।

कार्यक्रममा गण्डकी प्रदेशस्तरीय कार्यक्रम गण्डकी प्रदेशका केन्द्रीयय सदस्य, सांसद र जिल्ला तहका नेता कार्यकर्ताको सुझाव लिइएको थियो । सबै प्रदेशको नेता कार्यकर्ताको सुझाव संकलन गरेर कोरोना रोकथाममा ठोस नीति बनाएर जाने समितिका संयोजक प्रकाशशरण महतले जानकारी दिए ।

साभार: रातोपाटी

Copy link
Powered by Social Snap