


काठमाडौं उपत्यकामा दैनिक कोरोना संक्रमितको संख्या बढेको बढ्यै छ। अस्पतालमा अक्सिजन अभाव हुँदा सिकिस्त विरामीको उपचारमा कठिनाइ भएका खबरहरू आएका छन्।
यसैबीच हामीले काठमाडौंका चार ठूला अस्पताललाई अक्सिजन अभावका कारण कोरोना संक्रमितको उपचार गर्न नसकिने अवस्था छ कि, छैन भनेर सोधेका छौं।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालले अक्सिजन अभावका कारण विरामी फर्काउन नपरेको जनाएको छ। अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले बरू बेड नहुँदा विरामीलाई बरण्डा र भूइँमै राखेर उपचार गरिएको तर अक्सिजन भएन भनेर नफर्काइएको जानकारी दिए। ‘अहिले अक्सिजन पर्याप्त छ भन्ने होइन हामीले व्यवस्थापन गरेका छौं। अक्सिजन नभएर विरामी फर्काउन पर्ने अवस्था छैन,’ उनले भने।
निर्देशक राजभण्डारीले अहिले अस्पताललाई दैनिक ४ सय ५० अक्सिजन सिलिण्डर चाहिने बताए। अस्पतालसँग लिक्विड अक्सिजन ट्यांक पनि रहेकाले अक्सिजन व्यवस्थापन गर्न सहज भएको उनी बताउँछन्।
अहिले टेकु अस्पतालमा १ सय १७ जना विरामीको उपचार भइरहेको छ। जसमा ७ जना आइसियू र १५ जना भेन्टिलेटरमा छन्।

यस्तै त्रिवी शिक्षण अस्पतालले पनि बेड वा अक्सिजन अभावका कारण सिकिस्त विरामीलाई भर्ना नगरी फर्काउने नगरिएको जनाएको छ। अस्पतालका निर्देशक डा. दिनेश काफ्लेले आएका विरामीलाई जसरी पनि इमर्जेन्सीमा ठाउँ मिलाएर उपचार गरिने बताए।
‘उहाँहरूलाई कम्तिमा अक्सिजन दिएर भए पनि इमर्जेन्सीमा मिलाएर राख्छौं। तर वार्डमा ठाउँ नहुँदा अलिकति दुःख गरेर बस्नुपर्ने चाही हुन्छ। इमर्जेन्सीमा ठाउँ भएन भने पनि कुर्सीमै राखेर उपचार गरेका छौं। तर गेटबाटै फर्काउँदैनौं,’ उनले भने।
Advertisement



निर्देशक काफ्लेले त्यसरी इमर्जेन्सीमा रहेकालाई माथि वार्ड खाली भएपछि वार्डमा सार्ने गरिएको जनाए। हिजो मात्र ५७ जना डिस्चार्ज भएको भन्दै त्यसरी खाली भएका बेडहरूमा इमर्जेन्सीबाट जटिलताको आधारमा विरामीलाई सारिने उनले बताए। ‘डाक्टरहरू वार्डमा राउण्ड गएर अलिक सजिलो भएका विरामीहरूलाई घर जान भन्नुहुन्छ। त्यसरी खाली भएको बेडमा नयाँ विरामीको व्यवस्थापन गर्छौं,’ उनले भने।
निर्देशक काफ्लेले अस्पतालमा अझैं पनि आवश्यक अक्सिजनको सहज आपूर्ति नभए पनि त्यहीँ कारणले विरामीलाई भर्ना नलिने भने नगरेको स्पष्ट पारे। अहिले दैनिक साढे तीन सय अक्सिजन सिलिण्डर आवश्यक परे पनि उक्त संख्या नियमित उपलब्ध नभएको उनको भनाइ छ। यदि आवश्यक अक्सिजन व्यवस्थापन हुन सके थप विरामीको उपचार गर्न सकिने उनले बताए।

यस्तै वीर अस्पतालले पनि अक्सिजन अपर्याप्त भए पनि विरामीको व्यवस्थापन गरिरहेको जनाएको छ। अस्पतालकी निमित्त निर्देशक शान्ता सापकोटा भन्छिन्, ‘हामीले अक्सिजन अझैं कम छ। बाहिरबाट दुई सय सिलिण्डर आउने भए अहिलेलाई ठीक हुन्थ्यो। तर अलकति कम भयो। अब भएको अक्सिजनलाई व्यवस्थापन गरेर चलाएका छौं।’
उनले अस्पताललाई साढे तीन सय अक्सिजन सिलिण्डर आवश्यक पर्ने भन्दै अस्पतालले डेढ सय सिलिण्डर उत्पादन गर्ने र बाहिरबाट डेढ सय सिलिण्डर ल्याउने गरिएको बताइन्। तर विरामीलाई अक्सिजन र बेड अभाव भयो भनेर अहिलेसम्म फर्काउन नपरेको उनको भनाइ छ। बरू पर्याप्त अक्सिजन भए पाँचदेखि ६ सय बेडसम्म सञ्चालन गर्न सकिने भन्दै उनले भनिन्, ‘त्यसैले अक्सिजन अभावले विरामी फर्काउन परेको छैन। अब विरामीलाई बेडदेखि अरू सुविधा चित्त बुझेन भने अरू अस्पताल खोजेर जानेहरू पनि होलान् तर त्यो हामीले नसकेर होइन।’
अहिले वीर अस्पतालमा १ सय ८१ जना विरामीको उपचार भइरहेको छ। जसमा ७ जना आइसियू र ६ जना भेन्टिलेटरमा छन्।

यसैगरि पाटन अस्पतालले पनि विरामीको चाप बढी भए पनि कुनै विरामीलाई उपचार नगरी फर्काउने नगरिएको जनाएको छ। अस्पतालका निर्देशक डा. रवि शाक्यले आइसियूमा भर्ना गर्न नसकिए पनि कम्तिमा विरामीलाई इमर्जेन्सीमा राखेर उपचार गरिने बताए।
‘आइसियू र एचडियू चाहिएको छ र हामीसँग बेड छैन भने त्यो त छैन भनेर भन्नैपर्यो। तर अन्य अवस्थामा इमर्जेन्सीमा राखेर उपचार नगरी पठाएका छैनौं,’ उनले भने, ‘हिजो पनि १७ जना नयाँ विरामी भर्ना गर्यौं। त्यसमध्ये केही आइसियू नभएकाले फर्किनु पनि पर्यो होला। नत्र स्रोत साधनले भ्याएसम्म विरामीको उपचार गर्छौं।’
त्यसो भए कुनै सिकिस्त विरामी आयो भने अस्पतालले के गर्छ भन्ने प्रश्नमा डा. शाक्यले पहिले उक्त विरामीको अवस्था हेरिने भन्दै त्यसपछि इमर्जेन्सीमा राखेर उपचार गरिने जनाए। ‘इमर्जेन्सीमा राखेर विज्ञले हेरेपछि यदि आइसियू चाहिने अवस्था छ भने र बेड पनि खालि छ भने आइसियूमा सार्छौं। तर खाली छैन भने हामीसँग आइसियू छैन भनेर भन्नैपर्छ। विरामीलाई राखेर मात्र हुँदैन। सेवा पनि दिनुपर्छ,’ उनले भने।
यद्यपी विरामीलाई बेड छैन भनेर गेटबाटै फर्काउने स्थिति अहिलेसम्म नरहेको डा. शाक्यले बताए। उनले अहिले पनि विरामीका लागि बेड खालि रहेको भन्दै आइसियू मात्र भरिएको जानकारी दिए। उनले भने, ‘तर विरामीका आफन्तहरू आत्तिएर र अरूको कुरा सुनेर आइसियू छ भनेर सोधिहाल्नुहुन्छ। कहिलेकाही आइसियू नचाहिने पनि हुनसक्छ।’

यदीँ आइसियू खालि छैन र विरामीलाई आइसियू चाहिएको छ भने अस्पतालले आइसियू बेडका लागि समन्वय गरिदिने गरेको शाक्य बताउँछन्। उनले त्यस्तो अवस्थामा आफन्तलाई स्वास्थ्य मन्त्रालयको हटलाइनमा फोन गर्न लगाउने र थप गाइड पनि गरिने जनाए।
तर पाटन अस्पताल अगाडिदेखि नै कोभिड अस्पताल भनेर चिनिएकाले धेरै विरामी यहीँ आउने गरेको शाक्यले बताए। यद्यपि कतिपय विरामीहरू अस्पतालमा खबर नगरि आउँदा समस्या हुने गरेको उनको भनाइ छ। ‘विरामीलाई ल्याउनुभन्दा अगाडि यहाँ रहेका डाक्टरलाई फोन गर्नुस् भन्छौं ताकि यहाँ आएर फर्किन नपरोस्,’ निर्देशक शाक्यले भने।
उनले पछिल्लो केही दिनयता भने अक्सिजन आपूर्ति केही सहज भएकाले परिस्थिति सामान्य रहेको जनाए। अहिले अस्पतालले अक्सिजनको आपूर्ति भए अनुसार २ सय विरामीको भर्ना गर्नसक्ने भन्दै उक्त संख्याभित्र विरामीलाई उपचार गर्न सकिने उनको भनाइ छ। यदि थप अक्सिजन व्यवस्थापन गर्न सकिए बेड पनि विस्तार गर्ने उनले जनाए।


