२०८१ मंसिर ३

‘केही समयपछि कपाल काट्ने मान्छे भेट्नै मुश्किल हुन्छ’

गत वर्ष कोरोना लकडाउनपछि सैलुनहरू खोल्न पाउनुपर्ने माग राख्दै पेसाकर्मीहरूले माइतीघरमा गरेको आन्दोलन। 

महोत्तरीका करपुरी ठकुरीको नयाँ बानेश्वरमा सैलुन छ। कोरोना महामारीका कारण अघिल्लो वर्षदेखि नै काम हुन सकेको छैन। अहिलेसम्म पहिले बचाएको पैसाले गुजारा चलाइरहे पनि सटर भाडा तिर्न सकेका छैनन्। 

‘पहिला कमाएर राखेको पैसा थियो र अहिलेसम्म त्यसैले खान भइराखेको छ। भाडा तिर्न सकेको छैन,’ उनी भन्छन्, ‘अब कमाएर विस्तारै तिर्ने हो।’ धन्न उनलाई घरबेटीले सटर भाडा कमाएर दिँदा हुन्छ भनेकाले केही राहत भएको छ। नभए सटर छाड्नुपर्ने अवस्था आउँथ्यो। 

सैलुनको भाडा मासिक १२ हजार रूपैयाँ छ। अघिल्लो लकडाउनमा घरबेटीले एक महिनाको भाडा छुट दिए। तर वर्षभरि जसो नै काम नहुँदा उनलाई बाँकी भाडा तिर्न हम्मे परेको छ।

‘यही कामबाट पाँच जनाको परिवार पाल्नुपर्छ। सालो पनि मसँगै काम गर्थे, अहिले कमाइ छैन। खान बस्न चाहिँ दिइराखेको छु,’ करपुरीले भने।

सामान्य अवस्थामा उनको राम्रो कमाइ हुन्थ्यो, दिनमा एक हजार, कहिलेकाँही दुई हजारसम्म पनि। त्यसले काठमाडौंमा बस्न, खान र छोराछोरी पढाउन खर्च पुगेको थियो। तर अचानक आएको महामारीले करपुरीको पेसा धरापमा पर्‍यो, पैसा आउने बाटो रोकियो।

‘यस्तै भइराख्यो भने त कसरी बाँच्ने होला,’ उनको चिन्ता थपिन थालेको छ, ‘सरकारबाट पनि राहत छैन।’

कोरोनाका कारण काठमाडौं उपत्यकाको मात्रै होइन, देशभरकै नाई पेसा धरापमा परेको छ। सैलुनबाट संक्रमण फैलिने त्रास छँदैछ, त्योभन्दा ठूलो डर भोक कसरी मेटाउने भन्ने छ।


Advertisement


विगत २६ वर्षदेखि मोरङ, बेलबारीमा सैलुन चलाइरहेका अशोक ठाकुर यस्तै भइराखे नाई पेसाबाट विस्थापित हुनुपर्ने बताउँछन्। ‘बेलबारीमा वैशाख २४ गतेदेखि लकडाउन छ,’ उनले भने, ‘तर सैलुनबाट कोरोना सर्ने जोखिम धेरै भएकाले केही दिन अगाडिदेखि नै काम गर्न छाडेका थियौं।’

एकातिर कोभिडको जोखिम, अर्कातिर लामो समय काम नभए भने के खाने भन्ने चिन्ता। सरकारले राहत नदिँदा दिनभरी काम गरेको पैसाले बिहान-बेलुका छाक टार्नुपर्ने अवस्थाका नाईको बिचल्ली भएको उनी बताउँछन्।

‘सरकार राहत दिने कुरै गर्दैन। अघिल्लो पटक थोरै राहत दिँदा पनि फोटो खिचेर हाम्रो गरिबीमाथि मजाक गरियो। गरिबको चाँहि इज्जत हुँदैन कि के हो,’ अशोकले दुःख व्यक्त गरे। 

नेपालमा नाई पेसामा थुप्रै भारतीय पनि आबद्ध छन्। नाई संघका अनुसार यहाँका ३० प्रतिशत नाई भारतीय हुन्। महामारीका कारण उनीहरूमध्ये केही भारत फर्के, केही भने अब यो काम गरिराख्ने कि छाड्ने भन्ने दोधारमा छन्। 

भारतका राजु खातुन १२ वर्षदेखि नेपालमा सैलुन चलाइरहेका छन्। यसकै कमाइबाट उनले आफू, श्रीमती र तीन छोराछोरी पाल्नुपर्छ। 

‘छोराछोरीलाई खान दिएर मात्रै हुँदैन, पढाउनुपर्‍यो। पैसा आउने बाटो बन्द भए पनि बुझाउने बाटो बन्द हुँदैन। के गर्नु हजुर गाह्रो छ,’ उनले भने। भारतमा कोरोना भयावह भएकाले उनी नेपालमै बसेका हुन्। अहिले साथीभाइसँग सरसापट मागेर खर्च टारिरहेका छन्। 

नाई संघका अध्यक्ष राजाराम ठाकुरका अनुसार अहिले नाई व्यवसायी तथा मजदुरको अवस्था दयनीय छ। अघिल्लो वर्ष कामै भएन। बीचमा पनि सरकारले सञ्चालन अनुमति दिएन। न राहत दियो।

‘भोकभोकै मर्ने अवस्था भएपछि माइतीघर गएर चार पटक आन्दोलन गर्‍यौं, सरकारले सुनेन। राहत माग्दा प्रहरीको लाठी पायौं। अब त झन् के आश गर्न’?’ उनले भने, ‘राहतका लागि हात पसार्दापसार्दा थाकिसक्यौं। न सरकारले सुन्छ न घरबेटीले।’

हाल देशभर १७ हजार सैलुन भएको तथ्यांक संघसँग छ। अघिल्लो लकडाउनमा ३० प्रतिशत सैलुन बन्द भएको र यसपालि थप ५० प्रतिशत बन्द हुने अवस्थामा रहेको राजाराम बताउँछन्। यो पेसाको जोखिममा सरकारले ध्यान नदिने हो भने सबै पलायन हुने उनको भनाइ छ, ‘केही समयपछि कपाल काट्ने मान्छे भेट्नै मुश्किल हुन्छ।’ 

संघका अनुसार देशभरका एक लाख १४ हजार नाईको बिचल्ली भएको छ। महामारी अगाडि सामान्यतया एउटा सैलुनले महिनामा ५० हजारदेखि एक लाखसम्म आम्दानी गर्ने र ५ जना हाराहारीलाई रोजगारी दिएका थिए।

‘सैलुनबाटै कतिले घर बनाएका थिए। एक लाखभन्दा बढी नाईको परिवार यही पेसाबाट धानिएको थियो,’ राजारामले भने।

कतिपय नाईहरूले व्यवसाय चलाउन बैंकबाट ऋण लिएका छन्। ऋणको ब्याजदरमा केही सहुलियत गरिदिन उनीहरूले माग गरेका थिए। घरबेटीहरूसँग पनि पटकपटक भाडा छुट गरिदिन आग्रह गरे। बल्लतल्ल केही सैलुनले बढीमा दुई महिनाको भाडा पाएका थिए। यसपालि त यो पनि नभएको गुनासो उनी गर्छन्।

‘पोहोरकै भाडा किस्तामा तिरिरहेका छौं। अबको कसरी तिर्ने हो! सैलुन खोल्न नपाएपछि त्यहाँ भएका सामग्रीको पनि म्याद गुज्रिन्छ। सबै लगानी डुब्यो,’ उनले भने।

ठाकुर आफैंले सात लाख लगानी गरेर डिल्लीबजारमा सैलुन चलाइरहेका थिए। अहिले बन्द गरेर गृहजिल्ला सप्तरी फर्किएका छन्। उतै कुखुरा फार्म खोलेर वैकल्पिक कमाइको बाटो खोजिरहेका उनले भने, ‘काठमाडौं फर्किएर सैलुन चलाउन सकिँदैन अब।’

पछिल्लो समय धेरै युवाहरू यो पेसामा आकर्षित हुँदै थिए। विदेश नगई यहीँ सैलुन चलाएर कमाइको बाटो रोज्नेहरूले गर्दा नाई पेसामा नेपालीको संख्या बढ्दो थियो। पन्ध्र/बीस वर्षअगाडि ९० प्रतिशतभन्दा बढी नाई भारतीय भएकामा अहिले ३० प्रतिशत हाराहारी मात्रै भएको राजाराम बताउँछन्। तर अब अवस्था फेरि उल्टिन सक्ने उनको भनाइ छ।

‘सरकारले यो पेसालाई पूरै बेवास्ता गरेको छ। यस्तै हो भने नेपाली युवा नाईहरू अब विदेश पलायन हुन बाध्य हुन्छन्,’ उनले गुनासो गरे।

Copy link
Powered by Social Snap