२०८१ मंसिर १

मल नपाइने चिन्ताले धान रोप्ने खेत घटाउँदै छन् कैलालीका किसान

कैलालीको कैलारी गाउँपालिका-४ का रामजीवन चौधरीले आफ्नो धान खेतमा हाल्ने विकासे मलको लागि पोहर साल सहकारीलाई पैसा बुझाएका थिए। त्यो पैसाको मल अहिलेसम्म उनले पाएका छैनन्।

धानको बिउ राख्ने तयारीमा रहेका उनले यस वर्षको मलका लागि पनि गत साता सहकारीमा गएर अग्रिम पैसा बुझाएका छन्। 

डिएपीका लागि २५ सय र युरियाका लागि १ हजार रुपैयाँका दरले उनले सहकारीलाई अग्रिम पैसा दिइसके।

‘पोहर २ बोरा डिएपी मल किन्न २४ सय का दरले पैसा दिएको थिएँ। मलाई चाहिने ८ कठ्ठा युरियाका र ४ कठ्ठा डिएपी हो, त्यसको आधाको लागि एक हप्ताअघि पैसा दिइसकें,’ उनले भने।

उनको परिवार साढे २ बिघा जमिनमा धान लगाउने तयारीमा छ।

‘बिउ भिजाएका छौं। २/३ दिनमा छर्ने हो,’ उनले भने।

पीर भने उही डिएपी मलकै छ, यो वर्ष पनि लकडाउन छ मल पाइन्न होला भनेर उनी चिन्तामा छन्। पोहर साल पनि मल पाउँदै नपाएपछि उनले दिनको एक बोराका दरले साइकलमा भारतबाट किनेर ल्याएका थिए। २४ सय डिएपी पर्नेमा पारी २६ सय हाल्नु परेको थियो भने चार बोरा ल्याउन ४ दिन लागेको थियो।

यस्तै ९ बोरा युरिया मलका लागि उनी ९ दिनसम्म भारतको चन्दनचौकी बजार पुगेका थिए।

‘पारिबाट मल ल्याउन प्रहरीले दिँदैन, कहिलेकाहीँ साइकल र मल जफत गरिदिन्छ,’ उनले भने।

कैलारी-३ का अर्का किसान सन्तराम चौधरीले भने पोहर रातदिन सहकारीमा लाइन लागेर मल पाएका थिए।

त्यसबेला बिहानै सहकारी संस्था अगाडि लाइनमा बसेका उनी राती १ बजेतिर मल पाएपछि लिएर फर्केका थिए। उनी पछाडि लाइनमा बसेका दर्जनौं किसान मल सकिएपछि रित्तै पनि फर्केको उनी सम्झिन्छन्। यसपालि आफ्नो अवस्था त्यस्तै हुने हो कि भन्ने चिन्ता लागिरहेको उनले बताए।

मल अभावका कारण कतिपय किसानले त थोरै खेती लगाउने भएका छन्। पहिलाभन्दा थोरै खेतमा धान रोप्ने कतिपयको तयारी छ।


Advertisement


तीमध्ये एक हुन, ओमनगरका सन्तराम। अहिले उनी धानको बिउ राख्ने तयारीमा छन्। उनले एक कठ्ठामा धानको बिउ राख्दैछन्। बिउ जेठ ७ गते छर्ने उनको तयारी छ। उनी खेत जोत्न र झार हटाउने काममा व्यस्त छन्। उनलाई पीर उही विकासे मलकै छ। मलकै पीरले पोहोरभन्दा कम जग्गामा खेती गर्ने भएका छन्।

‘बीउ राख्ने गह्रामा गोबर ग्यासको मल हालेका छौं, सबै खेतमा त्यो पुग्दैन,’ उनले भने,’मल पाइने हो कि होइन। हामीले त अब धेरै जग्गामा खेती गर्न सकिन्छ जस्तो छैन।’

उनको आफ्नै जग्गा जमिन छैन। अधियाँ गर्छन्। पोहर साल डेढ विघा अधियाँ लिएर खेती गरेका उनले यो वर्ष एक विघामात्रै लिएका छन्।

असारका लागि चाहिने बिउको जोहो अहिलैदेखि गर्नुपर्छ। त्यसैले उनले मलबारे सोध्न सहकारीमा पटक-पटक फोन गर्छन्, कहिले आफै धाउँछन्।

‘यो साल पनि मल आएको छैन भन्छन्, के हो के हो,’ उनले भने।

सहकारीहरूले भने लकडाउन भएर मल नआएको जवाफ दिएका छन्।

उनलाई हरेक वर्ष मलको समस्या यस्तै हुन्छ।

केही महिनाअघि गहुँका लागि नेपालमा नपाइएपछि ४ कट्टा डिएपी र ३ कट्टा युरिया मल भारतबाटै ल्याएका थिए। गत वर्ष र यो वर्ष झन् बढी समस्या उनले देखेका छन्।

भारतबाट किनेर ल्याउन नाकामा उभिएको सशस्त्रले दिदैँनन्। देशभित्र ल्याउन सरकारले मल उपलब्ध गराइदिन्न।

‘जमिन बिग्रिसकेकाले मल नहाले खेती राम्रो हुँदैन। मल भने चाहिएका बेला पाइँदैन,’ उनले भने, ‘मल नपाएर खेतीमा लाग्ने खर्च मात्र बढेको छ,’ उनले भने।

मल नभएर थोरै जग्गामा धान लगाउने सोचिरहेका उनीमात्र होइन त्यही गाउँकै निशा चौधरी पनि छन्। उनले परिवारलाई पुग्ने जति खेतमा गोबर मल हालिरहेका छन्। गत वर्ष अधियाँमै उनीहरूले दुई बिघामा खेती गरेका थिए।

‘लकडाउनमा काम गर्ने मान्छे पनि पाइनेजस्तो छैन, मल पाइँदैन, ५ कठ्ठामात्रै खेती गर्छौं,’ उनले भनिन्।

असारको महिना चाहिने मलका लागि गत साता सहकारीमा गएका उनका पति रित्तै फर्किएका थिए।

‘मलका  लागि जानुभाथ्यो, मल छैन भने। लकडाउन खुलेपछि आउँछ भनेका छन्,’ उनले भनिन्।

यस वर्ष भारतबाट मल ल्याउन जान पनि समस्या भइरहेको उनले बताइन्।

निषेधाज्ञाका बेला नेपाल-भारत आउन जान रोक लगाइएकाले मल ल्याउन समस्या हुने चिन्ता उनलाई छ। 

‘मान्छेहरू पारि पनि मल छैन भनेर भन्दै थिए। मल किन्न चन्दनचौकी पनि जान पाइँदैन कोरोनाले गाह्रो छ,’ उनले भनिन्।

कैलाली र कञ्चनपुरमा खेतीयोग्य जमिन बढी भएकाले रासायनिक मल पनि यहाँ धेरै चाहिन्छ। सरकारले भने मल अभावको  तथ्यांकमात्र देखाउँछ। आपूर्ति बढाउने काम गर्दैन भन्ने गुनासो किसानहरूले गरिरहेका छन्।

प्रदेशमा रासायनिक मल वितरणको जिम्मा ७० प्रतिशत कृषि सामग्री कम्पनी लिमिटेड र ३० प्रतिशत साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले पाएका छन्।

कृषि सामग्री कम्पनी लिमिटेडका प्रादेशिक प्रबन्धक नवलसिंह बोगटीले यस वर्ष मल अभाव हुन नदिने तयारी रहेको बताए।

‘यस वर्ष मल आइरहेको पनि छ। मौज्दात पनि छ। अनुमानित एक हजार टन डिएपी, २०० मेट्रिक टन युरिया र ४ सय मेट्रिक टन पोटास गोदाममा छ,’ उनले भने।

उनले सहकारीले लैजाने काम पनि भइरहेको बताए। अहिले बैंक बन्द भएर वितरण नभएको हुनसक्ने उनको तर्क छ।

सुदूरपश्चिममा ४० हजार मेट्रिक टन मल आवश्यक पर्ने गरेको छ।

त्यसको आधामात्र मल प्रदेशमा आउने गरेको विगतका वर्षको तथ्यांकले दखाउँछ।

कृषि सामग्री कम्पनी लिमिटेडका प्रादेशिक प्रबन्धक नवलसिंह बोगटीले गत वर्ष मागको ८५ प्रतिशत किसानले डिएपी मल पाएको दाबी गरे।

उनका अनुसार लकडाउनका कारणले युरिया मल भने अभाव भएको थियो।

‘लकडाउनका कारण विदेशबाट नै मल नआएकाले केही अभाव भयो,’ उनले भने।

कर्पोरेसनमा अहिले कैलालीको लागि २५०५ मेट्रिक टन र प्रदेशभरको लागि ३२०५ मेट्रिक टन युरिया आउँछ।

यी दुबै संस्थामा आएको मल सहकारी संस्था र स्थानीय तहले किसानलाई वितरण गर्ने गरेका छन्।  

Copy link
Powered by Social Snap