


जानकी नवमीको अवसरमा जानकी मन्दिरमा सवा एक किलो सुन चढाइएको छ।
जानकी मन्दिरका महन्थ राम तपेश्वर दास वैष्णवले एक किलो र श्रद्धालु निर्मला देवीले २५० ग्राम सुन जानकी मन्दिरमा चढाएका हुन्।
सीताको जन्मको स्मरणमा प्रत्येक वर्ष जानकी मन्दिरमा धुमधामका साथ जानकी नवमी मनाइए पनि यस वर्ष भने कोरोनाको दोस्रो लहरका कारण धनुषामा निषेधाज्ञा लगाइएको छ। जसकारण जानकी मन्दिरमा पूजाआजा गर्ने श्रद्धालुहरूको उपस्थिति भने थिएन।
कोरोनाकै कारण अहिले जानकी मन्दिरको मुख्यद्वार समेत बन्द गरिएको छ।
Advertisement



यसवर्ष मन्दिरका पुजारी तथा केही धर्मानुरागीको उपस्थितिमा जानकी नवमी मनाइएको हो।
कोरोनाको त्रास तथा नेपालका विभिन्न जिल्लामा निषेधाज्ञा जारी रहेकोले जानकी जन्मोत्सवको अवसरमा घर-घरमा दीयो बाली आरती गर्न महन्थ दासले आग्रह गरेका छन्।

गत वर्ष समेत कोरोना महामारीकै कारण जानकी नवमी प्रभावित भएको थियो भने मन्दिरमा केक चढाएको भन्दै कडा आलोचना समेत भएको थियो।


