२०८१ मंसिर ३

अचेल पिँठ्यू हलुका छ, मन भारी

बुढ्यौलीका धर्साहरूले मुजा परेको अनुहार। खुइलिएको तालु। पट्पट फुटेका पैताला। छेवैमा खोलेर राखिएका एक जोर चप्पल। कालीमाटी र टेकु जोडिने पुलको नजिकै रूखमुनि टोलाइरहेका थिए उनी।

घरिघरि नजर यताउति डुलाउँदै, केही, कसैलाई खोजिरहेका थिए।

उनी हुन् ५६ वर्षीय पूर्णबहादुर कार्की। महादेववेशी धादिङ घर भएका पूर्णबहादुर दैनिक ज्यालादारी मजदुर हुन्। विगत दुई दशकदेखि उपत्यकाका गाडीहरूमा सामान लोड-अनलोड गर्दै उनको गुजारा चलिरहेको छ।

निषेधाज्ञायता पूर्णबहादुरले गह्रुँगो सामान उचाल्न पाएका छैनन्। हात र पिठ्यूँलाई हाइसञ्चो भए पनि पेट हुँडलिँदा मन भारी भएको छ। त्यही बोझले धर्मराएका उनी चौतारीमा बसिरहेका छन्। 

पूर्णबहादुरको बस्ने डेरा भने भिमसेनथानमा हो। भाडा हरेक महिना चार हजार रूपैयाँ बुझाउनुपर्छ। श्रीमती र आफूसहित छोराको खाना र पढाइ खर्च त्यही काम गरेर जुटाउनुपर्छ।

‘काम हुँदा त दिनको एक हजारदेखि कहिलेकाहीँ दुई हजारसम्म पनि भएकै हो। तर खासै बच्दैन, अलिकति बचाएको पनि अस्ति लकडाउन हुने भनेपछि सामान जोरजाम गर्दा सकियो। अब यस्तै भइरहने हो भने के खाने होला,’ उनले विरक्तिएको भावमा भने, ‘काम पाइए त खानेकुरा जोहो गर्न सजिलो हुन्थ्यो।’


Advertisement


उनले काठमाडौंमा बसेर खान, भाडा तिर्न र छोरालाई पढाउन खर्च पुर्‍याएकै थिए। कुनै दिन कमाइ नभए भोलिपल्ट काम पाइन्छ भन्ने आश हुन्थ्यो। आजभोलि त आश गर्ने समय पनि छैन। तै पनि पूर्णबहादुर कोठाबाट बिहानै निस्किन्छन्।

कालीमाटी, टेकु, डल्लु, नरदेवी, क्षेत्रपाटी, न्यूरोड लगायत मुख्य ठाउँ पैतालाले नाप्छन्। काम पाउने आशमा सडकका पेटीतिर बस्छन्। कहिलेकाहीँ खाना खान घर फर्किन्छन्। खानापछि फेरि काम पाउने आशमा उसैगरी सडक र गल्लीहरू चहार्छन्।

कुनै दिन त खाना खान कोठा पनि नफर्किने उनले बताए, ‘अब चामल पनि केही दिनमा सकिन्छ। त्यसपछि के खाने भन्ने चिन्ता हुन्छ। काम पाइहालिन्छ कि भन्ने आशले दिनभरि भोकै भए पनि बाटो हेर्छु।’

निषेधाज्ञाका कारण पसल र गोदाम बन्द छन्। काम पाउन मुश्किल पर्छ। तर कुनै कुनै दिन अत्यावश्यक सामग्री गाडीमा लोड-अनलोड गर्ने काम पाउँदा उनलाई राहत हुन्छ।

दुई दशकमा भारी बोकेरै पूर्णबहादुरले राम्रै पैसा बचाएका थिए। तर २०७२ साल उनका लागि कालो बनेर आयो। बचत गरेको सबै त्यही वर्ष स्वाहा।

‘कमाएर बचाएको थिएँ नि। माइलो छोरालाई प्यारालाइसिस भयो। उसको उपचारमा नौ लाख सकियो,’ विगत सम्झिँदै पूर्णबहादुरले भने, ‘बहत्तर साल १२ गते भुइँचालो, ११ गते मेरो छोरा मर्‍यो।’

उनको दुःख यत्तिमै सकिएन। १२ गते माइला छोराको अन्तिम संस्कारका लागि उनीहरू धादिङ घर गएका थिए। भुइँचालो आयो, पुरानो घर भत्कियो। घरले थिचेर पूर्णबहादुरकी श्रीमती चमेलीको गर्धनको हड्डी भाँचियो। जेठा छोराको पनि खुट्टा भाँचियो।

‘बुढीलाई घरले पुरिहाल्यो। निकालेर धुलिखेल अस्पताल पुर्‍याइयो। उसको घिच्रोको हड्डी भाँचियो, उता अर्को छोराको खुट्टा। फेरि चार–पाँच लाख ऋण लाग्यो। श्रीमतीले अझै औषधि खाइराख्नुपर्छ,’ बोल्दै गर्दा पूर्णबहादुर बेचैन थिए।

त्यो बेला लागेको ऋण उनले अझै तिरिसकेका छैनन्। ऋणको बोझ हलुका पार्न सामानको बोझ कतै पाइहालिन्छ कि भनेर निषेधाज्ञामा पनि आँखा यताउता डुलाइरहन्छन् उनी। तर वरिपरि चकमन्न मात्र छ। यस्तै सुनसान नियति अघिल्लो लकडाउनमा पनि उनले भोगेका थिए। बाहिर निस्किन डर लाग्थ्यो तर पेटले घचघच्याउँथ्यो। बाध्य भएर बेलाबेला सडकमा निस्किन्थे। तर प्रहरीले लखेटिहाल्थे। 

‘भरे भात खान पाइन्छ कि भनेर निस्कियो, पुलिसको लठ्ठी खाइन्थ्यो,’ उनले सम्झिए, ‘कहिलेकाहीँ लुकिछिपी काम गरेर पनि बाँचियो।’

त्यो लकडाउन पूर्णबहादुरले कुनै दिन आधा पेट खाएर, कहिले भोक सहेरै कटाए। त्यस्तो अवस्थाबाट गुज्रिँदा पनि सरकारबाट राहत भने नपाएको उनी बताउँछन्, ‘राहत पाइन्छ भनेर लिन गएको, नागरिकता चाहिने रहेछ। बोकेकै थिइनँ। त्यो दिन राहत लिने समय सकियो। अर्को पटक जाँदा राहत नै सकियो भनेर फर्काइदिए।’ 

रित्तै फर्कनुपर्दा उनलाई साह्रै नराम्रो लागेछ।

‘काम गर्न पाएसम्म त सरकारलाई हामीले मागेका थिएनौं नि। अप्ठ्यारोमा त हेर्छ भन्ने आश थियो,’ बोल्दाबोल्दै उनका आँखा टिलपिलाए। 

‘गरिबका लागि सरकार छ र?’ पूर्णबहादुरले प्रश्नसँगै उत्तर पनि आफैं दिए, ‘हामी दुःखीको सरकार छैन। रोग आयो भनेर काम बन्द गराउने अनि गरिब भोकभोकै मरेको रमिता हेर्ने पनि सरकार हुन्छ? रोगभन्दा निर्दयी त सरकार रहेछ।’

पूर्णबहादुरकी श्रीमती चमेली पनि एउटा घरमा सरसफाइको काम गर्थिन्। कोरोना महामारीपछि बन्द भइहाल्यो। आफूसँगै बस्ने कान्छा छोरा सरकारी स्कुलमा दस कक्षा पढिरहेका छन्। जेठा भने धादिङकै घरमा बस्छन्।

घर फर्किनलाई त्यहाँ उब्जाउ गरेर वर्षभरी खान पुग्ने खेतबारी नभएको पूर्णबहादुर बताउँछन्। त्यसमाथि सानैदेखि अरूका घर बसेर गुजारा चलाएकाले घरप्रति उत्तिसाह्रो भावनात्मक छैनन्। उनका बुवाको सानैमा मृत्यु भएको थियो। आमाले दोस्रो बिहे गरिन्। त्यसैले सानैदेखि अर्काको घरमा काम गरेर बसेका उनी भन्छन्, ‘पढ्न पनि पाइएन। यी यस्तै दुःख गर्ने बानी पर्‍यो।’

अब त काठमाडौंसँग कान्छा छोराको पढाइ पनि जोडिएको छ। छोराको भविष्य सम्झिएर पनि उनले दुःख सहेर यहीँ बस्ने सोचेका हुन्। छोरालाई स्नातकसम्म पढाउने योजना बुनेका उनी भन्छन्, ‘जेठोले पाँच कक्षा पढेर छाड्यो। माइलो सात पढ्दापढ्दै प्यारालाइसिस भएर गयो। कान्छो चाहिँ पढ्यो भने बाह्र–चौधसम्म पढाउने भन्या, कस्तो पढ्छ हेर्दै जाउँ।’

पूर्णबहादुर र चमेलीले हातगोडा चलुन्जेल मजदुरी गर्ने योजना बनाएका छन्। यही बेला कमाएर काम गर्न नसक्ने अवस्थाका लागि बचत गर्ने पनि उनीहरूको सोच थियो। तर कोरोनाले उनीहरूको सोचलाई पनि थलाइदिएको छ।

‘अलिअलि रिनपान तिरिसकेर हातखुट्टा लाग्ने बेलामै पछिका लागि केही पैसा जम्मा गर्ने सोच थियो,’ उनले भने, ‘तर अब भोकैले मर्नुपर्ने जमाना आयो।’

Copy link
Powered by Social Snap