२०८१ मंसिर ३

निषेधाज्ञाले ग्यारेजमा थन्कियो अटोरिक्सा, सुक्यो घरखर्च चलाउने आम्दानी

जब घरधन्दा सकिन्छ, उनलाई आफ्नो अटोरिक्साको याद आउँछ।

रूपन्देहीको तिलोत्तमा-३ सीमानगरकी जमुना कुमाल अटोरिक्सा ड्राइभर हुन्।

दिनदिनै चलाउन पाए त अटोरिक्साको अवस्था ठिकै हुन्थ्यो। नचलाएर राखिरहँदा यसका पार्टपुर्जा बिग्रिन्छन् कि भन्ने उनलाई चिन्ता छ।

त्यसैले उनी दिनदिनै घरधन्दा सकेपछि ग्यारेजमा थन्काएर राखेको आफ्‍नो अटो रिक्सा हेर्न जान्छिन्। धुलो लागेको छ कि भनेर पुछपाछ पार्छिन्।

सामान्य बेला बिहानदेखि साँझसम्म यात्रुलाई बोकेर गन्तव्यमा पुर्‍याउन व्यस्त रहने जमुनाले अटोरिक्सा घरमै थन्काएको १ महिना पुगिसक्यो। गत वर्ष पनि कोरोना लकडाउनमा झन्डै चार महिना अटोलाई घरमै थन्काएकी थिइन्।


Advertisement


कोरोना महामारीको जोखिम अझै पनि बढिरहेकाले अटो कहिलेसम्म घरमै थन्काउनु पर्ने हो यसै भन्न सकिने अवस्था छैन।

अटो चलाउन नपाए कसरी घर धान्ने भन्न सक्ने अवस्था पनि उनको छैन।

जमुनाले अटो चलाउन सुरू गरेको २ वर्ष भयो। चार वर्ष पहिले बुवाको मृत्यु भएपछि जमुना र उनकी दिदी गंगा आमा उजेलीको सहारा बनेका छन्।

कक्षा १० सम्म अध्ययन गरेकी जमुनाले एसएलसी उत्तीर्ण हुन नसकेपछि उच्च शिक्षा पढ्न पाइनन्।

आमा र दिदीले त्यतिबेलासम्म हाटबजारमा तरकारी बिक्री गर्न सुरू गरिसकेका थिए। उनी पनि कहिलेकाहीँ आमा र दिदीसँगै हाटबजार पुग्ने गर्थिन्।  हरेक हप्ता लाग्ने हाटबजारमा तरकारी लिएर जाँदा र आउँदा उनीहरू अटोरिक्सा नै प्रयोग गर्थे।

बुटवलमा महिला अटोरिक्सा चालकको संख्या बढिरहेको देखेकी जमुनाले आफूले पनि अटो चलाएर परिवारलाई आर्थिक रूपमा सघाउने निधो गरिन्। सुरूमा लगानी बढी नै गर्नुपर्‍यो। आफैं स्वरोजगार भइने र बुटवलमा यात्रुहरू पर्याप्त पाइने भएकोले आम्दानी पनि राम्रै गर्न सकिएला भनेर उनले आँटेकी थिइन्। उनले अटो चलाउने तालिम लिएपछि बैंकबाट ऋण निकालिन्।  आफ्नै नाममा अटोरिक्सा किनिन्। र बनिन् अटोरिक्सा ड्राइभर!

अहिले त्यही बैंकको ऋण सम्झेर उनको तनाव बढेको बढ्यै छ।

‘पोहोर पनि कोरोनाकै कारण तीन-चार महिना यसैगरी अटो थन्काएर राखेको हो, अहिले पनि राख्नुपर्‍यो। कहिलेसम्म यसरी बस्ने? बैंकको किस्ता कसरी बुझाउने?,’ उनले भनिन्, ‘ घरमा साँझ-बिहान पनि के खाने भन्ने भइसक्यो।’

बुवाको मृत्युअघि लागेको ऋण अझै केही तिर्न बाँकी छ। त्यसमाथि अटोरिक्सा किन्न उनीहरूले दुइटा बैंकबाट ५ लाख रुपैयाँ ऋण निकालेका थिए। एउटा बैंकमा १८ हजार र अर्कोमा ११ हजार गरी मासिक २९ हजार रुपैयाँ किस्ता बुझाउनु पर्छ।

यो किस्ता तिर्न सहज अवस्थामै उनलाई हम्मे थियो। अटो चलाएर दैनिक १२/१५ सय आम्दानी हुन्थ्यो। त्यसले  बैंकको किस्ता तिर्नुपर्‍यो, घर चलाउनै पर्‍यो। औषधिमूलो पनि गर्नै पर्‍यो।

‘त्यसमाथि पोहोरको ४/५ महिनाको बैंकको किस्ता बुझाउन नसकेपछि ऋणमै थपिएको थियो, अहिले पनि वैशाखको किस्ता बुझाउन सकिएको छैन, जेठ पनि आधा महिना जान थाल्यो, कहिलेसम्म निषेधाज्ञा जारी रहन्छ?’ उनले भनिन्, ‘लकडाउन हट्यो भने पनि बजार राम्रोसँग नखुलेसम्म यात्रु पाउने र आम्दानी गर्ने भन्ने सपनाजस्तै हो।’

बस्नको लागि उनीहरूको सीमानगर सुकुम्बासी क्षेत्रमा सानो घर छ। ऋण गरेर अटो चलाउन सुरू गरेको पाँच-छ महिना दैनिक १२/१५ सयसम्म कमाइ हुँदा उनको हिसाब मिलेकै थियो। आमा र दिदीको भरोसा बन्न सकेकोमा उनी मख्ख थिइन्। तर पाँच-छ महिनापछि नै कोरोना महामारी सुरू भैहाल्यो। अनि लकडाउन।

अहिले तीन जनाको घरखर्च, औषधी उपचार तथा भैपरी आउने खर्च धान्न गाह्रो भैरहेको  जमुनाले बताइन्।

‘कोरोनाका कारण स्थानीय प्रशासनले हाटबजार बन्द गरेपछि आमा र दिदीले पनि बजारमा लगेर तरकारी बिक्री गर्न पाउनुभएको छैन, कहिलेकाहीँ यसो बाटोतिर अटोमै तरकारी लगेर बिक्री गर्न थाले पनि कहाँबाट ल्याएको हो भनेर सुरक्षाकर्मी र स्थानीयको केरकार सुन्नुपर्छ,’ उनले भनिन्।

देवदह चरङगेकी देवीकुमारी सारूले पनि एक महिना भयो अटोरिक्सा चलाउन नपाएको। ६ वर्ष पहिले बुटवलमा अटोरिक्सा सञ्चालन भएपछि अटो किनेर चलाउन सुरू गरेकी थिइन्। पोहोर साल र यसपालि जति लामो समय अटो कहिल्यै थन्काउन परेको थिएन।

लामो समय घरमै अटो थन्काएर राख्दा परिवार कसरी पाल्ने भन्ने चिन्ता लागिरहने उनले बताइन्। उनले भने ६ वर्ष अघि अटो किन्दा बैंकबाट निकालेको ऋण चुक्ता गरिसकेकी छन्। तर बुढा भएका सासुससुरा, र छोराछोरीसहित ६ जनाको परिवारको खर्च धान्ने उनी र उनका श्रीमान हुन्। अटो चलाउन नपाए उनीहरूको घर पनि चल्न गाह्रो छ।

भारतबाट फर्किएका देवीका श्रीमान लोहितचन्द चौधरीले पनि २ वर्षदेखि नेपालमै आई अटो चलाउन थालेका थिए। तर कोरोना सुरू भएपछि दुई पटक गरि ४/५ महिना लकडाउन र निषेधाज्ञामै बितेपछि अलिअलि बचत भएको पैसा पनि सकिएको देवीले बताइन्।

‘नियमित चलाउन पाए त श्रीमान र श्रीमतीको कमाईले घरखर्च टार्न सजिलै हुन्थ्यो, तर घरमै अटो थन्काएपछि आम्दानी पनि ठप्प भएको छ,’ उनले भनिन्।

लामो समय अटो थन्काएर राख्दा आम्दानी रोकिएको मात्र होइन, अटोको ब्याट्री बिग्रिने, चक्का मक्किने र फलाममा खिया लाग्न थालेको उनीहरू बताउँछन्।

‘दुई-चार दिन अटो खडा राखे पनि ब्याट्री बिग्रिएर पछि स्टार्ट नहुने हुन्छ, अहिले त एक महिना पुगिसक्यो, लामो समय घरमै खडा राख्दा चक्का पनि मक्किन थालेका छन्,’ देवीले भनिन्।

विगत १० वर्षदेखि बुटवलमा रिक्सा चलाउन सुरू गरेका किशोर दासको पीडा पनि जमुना र देवीको भन्दा फरक छैन। बाराको गढीमाई घर भएका ३३ वर्षीय किशोर १० वर्ष पहिले बुटवलमा खुट्टाले पाइडल मारेर रिक्सा चलाउन सुरू गरेका थिए।

आफ्नो गाउँठाउँका अधिकांश युवाहरूले बुटवलमा अरू मजदुरी गरे पनि किशोरलाई भने रिक्सा चलाएरै भए पनि स्वरोजगार बन्ने रहर जाग्यो। गोलपार्कमा एउटा कोठा भाडामा लिएर श्रीमती र तीन जना छोराछोरीसहित बस्दै आएका किशोरलाई आफैंले किनेको रिक्सा चलाउने सपना देख्नु सम्भव थिएन।

उनले साहुसँग भाडामा लिएर रिक्सा चलाउन सुरू गरे। उनले म्यानुअल रिक्सा चलाउन थालेको तीन-चार वर्षपछि अटोरिक्सा भित्र्याइयो। अटो रिक्सा किन्न सक्ने उनको हालत बनिसकेको थिएन। अहिले पनि छैन।

अहिले पनि उनी भाडामै लिएको अटो चलाउँछन्। सामान्य अवस्थामा दैनिक १५/१६ सय आम्दानी हुन्थ्यो। आम्दानीमध्ये दैनिक ८ सय रूपैयाँ साहुलाई भाडा बुझाउनु पर्थ्यो। बाँकी ८ सयले उनले घर चलाउँथे। कोरोना महामारी सुरू भएपछि काम बन्द भयो, आम्दानी पनि बन्द।

केही अटो चालकले स्वास्थ्य सुरक्षाका सामग्रीबिनै ज्यानलाई नै जोखिममा राखेर कोरोना संक्रमितलाई बोक्दै आएका त छन्, तर उनले जोखिम मोल्न सकेका छैनन्।

‘एउटा कोठामा ५ जनाको परिवार बस्छौं, छोराछोरी साना छन्, म आफू संक्रमित भएँ भने छोराछोरीलाई पनि सर्न सक्छ, स्वास्थ्यभन्दा ठूलो कुरा केही हैन भनेर बिरामी बोक्ने हिम्मत गरिनँ,’ किशोरले भने।

परिवार पाल्न भने गाह्रो हुँदै गएको छ।

‘एउटा कोठाको मात्रै ४ हजार भाडा छ, घरमा बसिरहेपछि झनै धेरै खान मन लागिहाल्छ, पाँच जनाको खाना खर्च १२/१५ हजार पुग्छ, आम्दानी नभएको बेला महिनाको १८/२० हजार खर्च कसरी धान्ने?,’ उनले भने।

घर खर्चले आत्तिएका किशोर कहिलेकाहीँ अटोरिक्सा लिएर बाहिर निस्किन्छन्। तर यात्रु पाइन्नन्।

‘अस्पताल वरपर बिरामी र बिरामीका आफन्त अलिअलि पाइने भए पनि त्यता जान डर लाग्छ, बजार, स्कुल कलेज सबै क्षेत्र बन्द रहेकाले अस्पतालबाहेक अरू क्षेत्रमा यात्रु पाइन्नन्,’ उनले भने।

बुटवलमा १५ सय हाराहारीमा अटो रिक्सा छन्। अधिकांश अटो चालकहरूको पीर उस्तै छ।

परिवार धान्नै गाह्रो हुन थालेपछि कतिले त बिरामी बोक्ने र अस्पताल र घरघरमा रहेका कोरोना संक्रमितको लागि अक्सिजन सिलिन्डर बोकेर हिँड्ने हिम्मत गरेका छन्।

अधिकांश अटोरिक्साहरू भने अहिले घरकै ग्यारेजमा थन्किएका छन्।

Copy link
Powered by Social Snap