चिनियाँ सिमाना ‘हिल्सा’ मा माइनस ७ डिग्रीसम्ममा गस्ती
चीनसँगको सीमा जोडिएको हिल्सामा स्थापना भएको सीमा सुरक्षाचौकी (बिओपी) का सुरक्षाकर्मीले माइनस सात डिग्रीसम्मको तापक्रममा हिउँ छिचोल्दै सीमा क्षेत्रको गस्ती गर्नुपरेको छ । हिमपातपछि बन्द रहेको हिल्साको बाटोमा नियमितरूपमा हिल्सा बिओपीमा खटिएका सुरक्षाकर्मीले गस्ती गर्दै आउनुपरेको छ ।
केही दिन अगाडि परेको हिमपातले हिल्सा क्षेत्र सेताम्मे भएको सीमा सुरक्षाचौकीका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक सुरज केसी बताए । उनको नेतृत्वमा गस्ती टोलीले विकट क्षेत्र र लिमीतर्फ सीमास्तम्भको निरीक्षण गर्ने गरेको छ भने नारातर्फ नेपालपट्टि पनि अनुगमन गर्ने गरेको छ ।
इन्चार्ज केसीले भने, “माइनस सातसम्म तापक्रम अहिले पुगेको छ र हिल्साका होटल व्यवसायीका अनुसार अझै बढ्ने जानकारी आएको छ । बिहान उठ्दा धारा, शौचालय, बाल्टीका पानी जमेको छ । पानी जमेर भएको बरफलाई तताएर मात्र पानी निकाल्न सकिने अवस्था छ...