
भनेजस्तो ज्याकेट नपाएपछि दुई साथीले आफैं सुरू गरे ‘आरोहण’
झन्डै दुई वर्षअघिको कुरा हो।
दुई साथी, रिजेश श्रेष्ठ र कृपा जोशी ज्याकेट किन्न ठमेल पुगे। उनीहरू मर्निङ वक, साइक्लिङ र हाइकिङ जाँदा लगाउन मिल्ने हलुका ज्याकेटको खोजीमा थिए। भनेजस्तो कपडा र रङको पाएनन्।
स्वदेशी उत्पादनलाई प्राथमिकता दिने रिजेशले त्यसअघि २०७५ कात्तिकतिर पनि ट्रेकिङका लागि विन्डप्रुफ (हावा नछिर्ने) र वाटरप्रुफ (पानी नछिर्ने) ज्याकेट खोजेका थिए। त्यस बेला उनी एक ट्रेकिङ एजेन्सीमा बजार प्रबन्धकका रूपमा काम गर्थे। त्यही वर्ष असोजतिर उनी विदेशीको टोली लिएर हेलम्बु ट्रेकिङ गए।
'त्यस बेला ट्रेकिङ जाँदा बजारमा उपलब्ध नेपाली ब्रान्डकै ज्याकेटलगायत लुगा लगेको थिएँ। लुगाहरू उपयुक्त लागेको थियो,' २८ वर्षीय रिजेश अहिले सम्झिन्छन्, 'तर फर्किने बेलामा ज्याकेटले त्यहाँको मौसम धान्नै सकेन। मसँगै गएका विदेशीहरूले लगाएको विदेशी ब्रान्डका लु...