पहिलो पटक जिब्रो छेडी महाद्वीप बोकेर टोलटोल घुमे सुजन
भक्तपुर, २ वैशाख (रासस) : मध्याह्नदेखि नै मध्यपुरथिमिको बोडे क्षेत्रमा मानिसहरूको भीड बढ्दै गयो । हेर्दाहेर्दै मध्यपुरथिमि नगरपालिका बोडेको पाँचो गणेशको दक्षिण फर्केको पाटी आसपासदेखि बोडेको अधिकांश क्षेत्रमा मानिसको भीड निकै बाक्लो भयो ।
बिस्केट जात्राको अवसरमा हरेक वर्ष २ गते मनाइने मध्यपुरथिमि बोडेको प्रसिद्ध जिब्रो छेड्ने जात्रा हेर्न दिउँसो १ बजेसम्म मानिस खचाखच भए । दिउँसो २ बजे बाँसको चिम्टी बजाउँदै एकहुल मानिस हातको साङ्लो बनाएर जिब्रो छेड्ने पाँचो गणेश मन्दिर क्षेत्रमा आएपछि सबैको ध्यान त्यतैतिर केन्द्रित भयो । बीचमा थिए, जिब्रो छेड्न तयार भएका २७ वर्षीय सुजन श्रेष्ठ । उहाँ सबै देवीदेवताको मन्दिरमा पुगेर पूजा गर्दै आइपुगे ।
सुजनको आगमनसँगै बोडेका बासिन्दाले जयजयकार गरे । पाँचो गणेशको दक्षिण फर्केको पाटीमा बनाइएको मञ्चमा सुजन उक्लिएपछि लगातर यसअघि १२ पटक जिब्रो छेडा...