
‘पढ्दै कमाउँदै’ कृषि विज्ञानका विद्यार्थी, तरकारी बेचेर कमाए २ लाख
हिमाली जिल्ला मुगुकी सबिना बुढा क्षेत्री दाङको घोराही उपमहानगरपालिका–१०, नारायणपुरस्थित सिद्धरत्ननाथ उच्च माध्यमिक विद्यालयमा कृषि विज्ञान अन्तर्गत ‘बाली विज्ञान’ विषयकी विद्यार्थी हुन्।
पढाइसँगै उनी विद्यालयको खेतमा काम गर्छिन्। कृषक आमाबुबाकी छोरी उनले आफ्नो गाउँमा पनि खेतीको काम गरेकै थिइन्। कृषिकर्ममा अभ्यस्त थिइन्। उता मुगुको आफ्नो गाउँमा बाली तयार हुन धेरै दिन लाग्थ्यो। तरकारी पनि वर्षमा एक पटक मात्रै हुन्थ्यो। दाङमा भने सविनाको अनुभव फरक छ।
'यहाँ त एकै वर्षमा एउटै तरकारी तीन/चार पटक उत्पादन हुन्छ। मेरा लागि यो निकै नौलो अनुभव भएको छ। खेती गर्ने तरिका गाउँको भन्दा धेरै फरक रहेछ,' उनले भनिन्।
कृषि विषयको विद्यार्थी भएपछि उनले ठाउँको वातावरण अनुकूल खेती गर्न जान्दा बढी प्रतिफल लिन सकिने भन्ने थाहा पाएकी छन्।सविना हाल डिप्लोमा तेस्रो वर्षमा पढ्दै छिन्। उनी र उनका सहप...