गौतमश्री सहकारीको ठगी : २५ हजार बचतकर्ताको ७ अर्ब जोखिममा
१५ साउन, काठमाडौं । ललितपुरकी उर्मिला महर्जनले दैनिक मजदुरीमा जुठा भाँडा माझ्ने र सरसफाइको काम गर्न थालेको वर्षौं भयो । यसरी आएको रकमबाट घर खर्च चलाएर काठमाडौं महानगरपालिका–१४ कुलेश्वरमा रहेको गौतमश्री बहुउद्देश्यीय सहकारीमा बचत गर्न थालिन् । कहिलेबाट रकम राख्न थालिन् ? कति रकम भयो उनीसँग राम्रो हिसाब पनि छैन ।
आमाले पनि नियमित कारोबार गर्दै आएको सहकारीप्रति उनले कहिल्यै शंका गरिनन् । तर शुक्रबार एकाएक आफूले दिनरात नभनी मिहिनेत गरेर कमाएको पैसा वर्षौंदेखि जम्मा गरेको सहकारी संस्थामा ताला लगाएर सञ्चालक फरार भएको सुनेपछि उनी छाँगाबाट खसेजस्तै भइन् ।
‘पहिले आमाले कारोबार गर्नुहुन्थ्यो, मलाई पनि विश्वास लागेर कारोबार गरेँ । पहिले सानो भवनमा थियो, अहिले सहकारी ठूलो भएपछि भवन पनि ठूलो बनेको छ,’ आइतबार सहकारी विभागमा भेटिएकी महजर्नले गहभरी आँसु पार्दै भनिन्, ‘‘राति १२ बजे...